पावरफुल ईभी खोज्नेलाई ४ विकल्प, मूल्य र पावरमा कुन उत्कृष्ट ?

काठमाडौं । पावरफुल गाडी धेरैको चाहना हुन्छ । नेपाल सरकारले मोटर पावरलाई नै आधार बनाएर कर लगाएको कारण पावर घटाएर गाडी आयात भइरहेका छन् ।

बजारमा टेस्लादेखि अउडी र पोर्श्चेसम्म ब्राण्डका पावरफुल गाडी छन् । तर, यी सबै गाडी सबैले सहजै शोरुममा गएर हेर्न, टेष्ट ड्राइभ गर्न र चाहँदा किनिहाल्न पाउँदैनन् ।

शोरुम संचालन, बिक्रीको लागि स्टक र बिक्रीपछिको चुस्त सर्भिस सुविधा दिनेगरी आएका पावरफुल गाडीहरूको विषयमा यहाँ चर्चा गर्न लागेका छौं । जसले  पावरफुल ईभीमा तपाईको लागि कुन ठिक हुन्छ भन्ने एकिन गर्न पनि तपाईलाई सहयोग पुग्नेछ ।

बीवाइडी सिल

अहिले मूल्यसूची प्रकाशित गरेर बिक्री हुनेमध्ये सबैभन्दा पावरफुल कार बीवाइडी सिल हो । स्पोर्टी सेडान बडी डिजाइनमा रहेको सीलमा ३९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ ।

उसोत साइमेक्स इंक प्रालिले त्योभन्दा सानो मोटर पावरमा पनि सिललाई बिक्री गर्दै आएको छ । भेरियन्ट अनुसार अन्य दुईमा क्रमशः २३० र १५० किलोवाटको मोटर अप्सन दिइएको छ ।

बीवाइडी सिलमा सानो मोटरसँग ६१.४४ किलोवाट अवार र अन्य दुई भेरियन्टसँग ८२.५६ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । यसको सबैभन्दा पावरफुल मोटर भएको भेरियन्टको मूल्य १ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

जीकर एक्स

पायोनियर मोटोकर्प प्रालिले बिक्री गर्दै आएको जिकर एक्स एक पावरफुल क्रसओभर मोडल हो । दुई मोटर अप्सनमा नेपाल आएको जीकर एक्समा ३१५ र २०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।

यसको पावरफुल मोटरमा अल ह्वील ड्राइभ सिस्टम उपलब्ध छ । जीकर एक्स एक ‘प्योर पर्फर्मेन्स कार’ हो । शून्यदेखि १०० किलोमिटरको स्पीड केबल ३.८ सेकेन्डमा भेट्टाउने जीकर एक्सले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिन्छ । यसमा ६६ किलोवाट आवर क्षमताको ब्याट्री प्याक दिइएको छ ।

कम्पनीले टप भेरियन्टको मूल्य १ करोड ५४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । यसको २०० किलोवाट क्षमताको मोटर भएको भेरियन्ट भने ७९ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बीएमडब्लू आइएक्स-थ्री

लक्ष्मी प्रिमियमले नेपाली बजारमा बिक्री गर्दै आएको बीएमडब्लू आइएक्स-थ्रीमा २१० किलोवाटको इलेक्ट्रीक मोटर छ । साथै, यसको पीक टर्क ४०० एनएम छ । विश्वकै लग्जरी कार ब्राण्डले ल्याएको आइएक्स-थ्री मोडलमा सबै किसिमका आधुनिक फिचर पाउन सकिन्छ ।

बीएमडब्लूले यसमा ८० किलोवाट आवरको ब्याट्री दिइएको छ । बीएमडब्लूका अनुसार यसले प्रति १०० किलोमिटर यात्रा गर्न १९.४ किलोवाट अवार ब्याट्री खर्च गर्नेछ । यसले सिंगल चार्जमा ४८० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

प्रिमियम ब्राण्डको लग्जरी एसयूभी मूल्यका हिसाबले पनि महंगो मोडलमा पर्छ । यसको मूल्य २ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

स्मार्ट ह्यासट्याग-थ्री

मर्सिडिज र जिली होल्डिङ मिलेर चीनमा उत्पादन गरेको ह्यासट्याग-थ्री मोडलमा पनि २०० किलोवाटको रियर ह्वील ड्राइभ इलेक्ट्रीक मोटर छ । यसमा पीकटर्क ३४३ न्यूटन मिटर पाउन सकिन्छ ।

नेपाली बजारमा ६६ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध ह्यासट्याग-थ्रीले ४०० किलोमिटर माथि रेन्ज दिन्छ । नेपाली बजारमा सीजी मोटर्सले यसलाई उपलब्ध गराएको हो । कम्पनीले यसको मूल्य १ करोड २० लाख रुपैयाँ तोकेको छ ।


Back_to_top