काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी नियोले अन्तर्राष्ट्रिय बजारलाई मध्येनजर गर्दै ल्याएको नयाँ ‘फायरफ्लाइ ब्राण्ड’को पहिलो मोडलको फिचर सार्वजनिक भएको छ । कम्पनीले यसअघि नै धेरै कुरा बाहिर ल्याएको ‘फायरफ्लाइ’ ह्याचव्याकको मोटर र साइजको डिटेल बाहिर आएको हो ।
नियोले फायरफ्लाइ ह्याचव्याकको सेल्स लाइसेन्सको लागि आवेदन दिएसँगै गाडीमा रहेका फिचरहरुको जानकारी बाहिर आएको हो । सब फोर मिटर साइजमा उपलब्ध फायरफ्लाइ मोडलमा १०५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।
यसमा ब्याट्री भने सनवाडाको एलएफपी प्रयोग गरेको छ । केही दिनमै ब्याट्री साइज घोषणा हुनेछ । फायरफ्लाइको लम्बाइ ४००३ एमएम, चौडाइ १७८१ एमएम र उचाइ १५५७ एमएम छ । यसमा २६१५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । कारमा ह्वील भने १८ इन्चको पाउन सकिन्छ ।
नियोका सीईओ विलियम लिलले ग्वान्झाओमा भएको नियो डे कम्फ्रेन्समा फायरफ्लाइ ईभी सन् २०२५ को अप्रिलबाट बिक्री गर्ने बताएका थिए । अप्रिलमा हुने संघाई अटोशोबाट यसको बिक्री सुरु हुने अनुमान गरिएको छ ।
‘फायरफ्लाइ’ विद्युतीय ह्याचव्याक कारको अगाडि र पछाडि नै युनिक डिजाइन पाउन सकिन्छ । तीनवटा सर्कल लाइट रहेको कारको टर्निङ रेडियस केबल ४.७ मिटर हुनेछ । निकै आकर्षक डिजाइनमा तयार भएको फायरफ्लाइ मोडलको डिजाइन बीएमडब्लू र फोर्डमा काम गरेका कृस तोमासनले गरेका हुन् ।
हेर्दा ठिकठाकको साइजमा देखिएको विद्युतीय कारको ट्रङ्क क्षमता अगाडि ९२ लिटर र अधिकतम बुट स्पेश १२५० लिटरसम्म हुनेछ । यसको बढी स्ट्रक्चर पनि ८३.४ प्रतिशत हाइ स्ट्रेन्थ स्टीलले बनेको छ । सुरक्षाका लागि यसमा एडास सिस्टम र ९ वटा एयरव्याग उपलब्ध हुनेछन् ।
नियोको फायरफ्लाइले बीएमडब्लु मिनी, मर्सिडिज र जिलीको संयुक्त लगानी भएको स्मार्ट र फक्सवागेन आइडी ३ सँग प्रतिस्पर्धा गर्नेछ ।


