काठमाडौं । अमेरिकाको म्यासाचुसेट्स राज्यका ईभी मालिकहरुले आवश्यक परेको समयमा ग्रिडमा बिजुली उपलब्ध गराएर पैसा कमाउन थालेका छन् । उनीहरूले आफ्नो गाडीको ब्याट्रीमा सञ्चित ऊर्जा स्थानीय विद्युत् ग्रिडलाई बिक्री गरेर आम्दानी गर्न थालेका हुन् ।
त्यहाँको राज्य सरकारले बढ्दो विद्युत् माग व्यवस्थापन गर्न ईभीको ब्याट्रीलाई ऊर्जा भण्डारणका रूपमा प्रयोग गर्ने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो ।
‘हिटम्याप न्युज’का अनुसार म्यासाचुसेट्स क्लिन इनर्जी सेन्टरको आर्थिक सहयोगमा सञ्चालन हुने कार्यक्रममा सहभागी ६० वटा घरमा ईभी चार्ज गर्ने र आवश्यक पर्दा बिक्री गर्ने ईभी चार्जिङ प्रणाली जडान गर्न लागिएको हो ।
यस प्रणालीमार्फत आवश्यक परेको समयमा ग्रिडबाट ईभीमा बिजुली चार्ज गर्न मात्र नभई ईभीको ब्याट्रीबाट पुनः ग्रिडमा बिजुली पठाउन सकिनेछ ।
यसका लागि साधारण ईभी चार्जर मात्र पर्याप्त हुँदैन । घरमा द्विदिशात्मक ईभी चार्जरका साथै ग्रिडसँग सञ्चार गर्न सक्ने ऊर्जा व्यवस्थापन प्रणालीसमेत जडान गर्नुपर्ने हुन्छ ।
कार्यक्रममा विभिन्न कम्पनी र विद्युत् वितरण संस्थाहरू सहभागी छन् । एभर्सोर्स र नेसनल ग्रिडजस्ता युटिलिटी कम्पनीसँगै इनर्जीहब, सनरन र द मोबिलिटी हाउसले सफ्टवेयर तथा ग्रिडसँग ईभीलाई एकीकृत गर्ने प्रविधि उपलब्ध गराउनेछन् ।
कार्यक्रममा सहभागी हुने ईभी मालिकले निश्चित रकम प्राप्त गर्नेछन् भने गर्मी मौसममा आफ्नो गाडीको ब्याट्रीबाट ग्रिडमा विद्युत् उपलब्ध गराएबापत प्रतिकिलोवाट २७५ डलरसम्म आम्दानी गर्न सक्ने बताइएको छ । यसले ईभी मालिकलाई अतिरिक्त आम्दानीको अवसर दिनुका साथै विद्युत् माग अत्यधिक बढेका समयमा ग्रिडलाई समेत सहयोग गर्ने अपेक्षा गरिएको छ ।
अहिलेलाई चाहेको खण्डमा पनि सबै ईभीले यस्तो प्रणालीमा सहभागी हुन पाउने छैनन् । कारखानाबाटै भेहिकल-टु-ग्रिड प्रविधि सपोर्ट गर्ने निसान लिफ, किया ईभी-९, पोलस्टार ३, भोल्भो इएक्स-९० जस्ता मोडल मात्रै यस कार्यक्रममा सहभागी हुन पाउनेछन् ।
यस्ता प्रविधिले भविष्यमा ईभीलाई केवल यातायातको साधनमा सीमित नराखी घर र विद्युत् ग्रिडका लागि चलायमान ऊर्जा भण्डारण प्रणालीका रूपमा प्रयोग गर्ने सम्भावना बढाएको छ ।
विशेषगरी एआई डाटा सेन्टरको बढ्दो विद्युत् खपत र गर्मीका कारण बढ्ने उच्च विद्युत् माग व्यवस्थापनमा ईभी ब्याट्री महत्वपूर्ण बन्न सक्ने देखिएको छ ।
नेपालले कसरी फाइदा लिने ?
यो प्रविधि अहिले अमेरिकामा परीक्षण भइरहेको छ । यसको सफलतापछि नेपालले प्रयोगमा ल्याउने हो भने फाइदा नै फाइदा देखिन्छ ।
नेपाल र भारत बीच क्रस बोर्डर विद्युत कारोबार चालु रहेको छ । दुबै देशमा दिउँदो ऊर्जाको माग कम र बिहान बेलुका धेरै हुने अवस्था छ । यस्तोमा विद्युतीय कारबाट महंगो हुने समयमा बिक्री गर्ने र सस्तो मूल्यमा उपलब्ध हुँदा चार्ज गर्ने पद्दती विकास गर्न सकिन्छ ।
यसरी विद्युत कारोबार गर्दा गाडीमा रहेको ब्याट्रीको लाइफमा असर भने गर्नेछ ।


