काठमाडौं । होण्डाको बहुप्रतिक्षित इलेक्ट्रीक स्कुटर एक्टिभा–ई र क्यूसी १ भारतमा सार्वजनिक हुने भएको छ । कम्पनीले शुक्रबारदेखि सुरू भारत मोबिलिटी एक्स्पो २०२५ मा उक्त स्कुटर सार्वजनिक गर्ने भएको हो ।
सम्भवतः कम्पनीले यसको बुकिङ समेत खुला गर्नेछ । कम्पनीले सन् २०२४ नोभेम्बर २७ मा दुई नयाँ इलेक्ट्रीक स्कुटर एक्टिभा-ई र क्यूसी-१ स्कुटर प्रदर्शनी गरेको थियो भने अब सार्वजनिक गर्न लागेको हो ।
कम्पनीले यी स्कुटरको डेलिभरी भने फेब्रुअरी २०२५ देखि सुरु गर्ने बताएको छ । कम्पनीले धेरै जसो फिचर एउटै दिएको एक्टिभा ई र क्यूसी १ समान डिजाइनमा बनेको स्कुटर हो ।
कम्पनीले एक्टिभा ई मा १.५ किलोवाट क्षमातका दुई रिमुभएबल ब्याट्री प्याक दिएको छ भने, क्यूसी १ मा १।५ किलोवाट क्षमताको फिक्सड् ब्याट्री छ । एक्टिभालाई घरमा चार्ज गर्न सकिन्न भने क्यूसी १ मा चार्जिङ पोर्ट दिएको छ । एक्टिभा ईमा तीन राइड मोड उपलब्ध हुँदा क्यूसी १ मा २ वटा मोड मात्रै उपलब्ध छ ।
होण्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले २०२५ मा क्यूसी १ र एक्टीभा ई मोडल १ लाख यूनिट उत्पादन गर्ने योजना बनाएको छ । कम्पनीले सुरूवातमा शहरी क्षेत्रहरूमा यसको बिक्री सुरू गर्ने योजना बनाएको हो ।

कम्पनीले यी स्कुटरको मूल्य १ लाख ५० हजार भारु हाराहारीमा तोक्ने अनुमान गर्न सकिन्छ । यी स्कुटरले बजाज चेतक, टीभीएस आइक्यूब, एथर चेतक जस्ता स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।
कहिले आउला नेपाल ?
होन्डा इन्डियाले उत्पादन गरेको धेरैजसो मोडलहरू चाँडै नै नेपाली बजारमा आउने गरेका छन् । होन्डाले भारतमा सार्वजनिक गरेको एक्टिभा ई तत्काल नेपाल आउने सम्भावना भने कम छ ।
एक्टिभा ईमा चार्जिङ पोर्ट नभएको र यसका लागि स्वाप स्टेशन निर्माण गर्नुपर्ने हुन्छ । स्वाप स्टेशनका लागि ठूलो लगानी आवश्यकता पर्ने कारण एक्टिभा ई नेपाल आउने सम्भावना कम देखिन्छ ।
सन् २०२५ को अन्त्यसम्ममा होण्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले क्यूसी १ मोडल भने नेपाल भित्र्याउने सम्भावना देखिन्छ ।
पछिल्लो समय नेपाली बजारमा प्रिमियम इलेक्ट्रीक स्कुटर बिक्रेताहरूले राम्रो व्यापार गर्न थालेका छन् । यस्तोमा भारतीय बजारमा उत्पादन भएको होण्डाको इलेक्ट्रीक स्कुटर २०२५ को अन्त्यसम्ममा नेपालमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

