चार भेरियन्टमा आउँदै ‘एक्सईभी-९’, यस्तो छ मूल्य

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राको सबैभन्दा प्रिमियम इलेक्ट्रीक मोडल एक्सईभी-९ विभिन्न चार भेरियन्टमा उपलब्ध हुने भएको छ । भारतमा उपभोक्ताहरूलाई आजदेखि टेस्ट ड्राइभ खुला गर्दै कम्पनीले चारवटै भेरियन्टको मूल्य सार्वजनिक गरेको हो ।

महिन्द्राले एक्सईभी-९ लाई दुई ब्याट्री अप्सनमा ल्याउन लागेको छ । कम्पनीले प्याक वान, प्याक टु र प्याक थ्री सेलेक्ट नाम दिएर सर्ट रेन्ज मोडलमा तीन भेरियन्ट ल्याउने छ । लङ रेन्जमा प्याक थ्री एउटा मात्रै भेरियन्ट उपलब्ध हुनेछ ।

महिन्द्राले एक्सईभी-९ को लङ रेन्ज मोडल सबैभन्दा पहिला बिक्रीका लागि उपलब्ध गराउने जनाएको छ । मिड मार्च २०२५ बाट ३० लाख ५० हजार मूल्य पर्ने प्याक थ्री भर्सन बिक्रीको लागि उपलब्ध हुनेछ ।

सर्ट रेन्जमा प्याक थ्री सेलेक्ट भेरियन्ट २७ लाख ९० हजार मूल्यसहित जुन २०२५ बाट बिक्रीका लागि उपलब्ध हुनेछ । साथै, प्याक टुको मूल्य २४ लाख ९० हजार हुनेछ । यसलाई जुलाइदेखि बजारमा उपलब्ध गर्ने जनाएको महिन्द्राले इन्ट्री भेरियन्ट प्याक वानको मूल्य २१ लाख ९० हजार तोकेको छ । यसलाई अगस्टबाट मात्रै बिक्रीका लागि उपलब्ध गराउने छ ।

महिन्द्राको कुप्पे एसयूभी एक्सईभी-९ मा ५९ र ७९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छ । यी दुई मध्ये सानो ब्याट्रीलाई रिपोर्टमा सर्ट रेन्ज र ठूलो ब्याट्री भएको भेरियन्टलाई लङ रेन्ज भनिएको हो ।


Back_to_top