‘बीई-६’को लङ रेन्जमा छैन अप्सन, सर्ट रेन्जमा ४ भेरियन्ट, बिक्री गर्ने मिति घोषणा

काठमाडौं । महिन्द्राले आफ्नो बहुप्रतिक्षीत मोडल बीई-६ को सम्पूर्ण भेरियन्टको जानकारी दिएको छ । कम्पनीले सर्ट रेन्ज मोडलमा विभिन्न ४ भेरियन्ट ल्याउने भएको हो ।

महिन्द्राले भेरियन्टहरूको नाम पनि अनोठौ राखेको छ । इन्ट्री भेरियन्ट प्याक वान राखेको छ । त्यस्तै, प्याक वान एभोब, प्याक टु र प्याक थ्री सेलेक्ट नाममा सर्ट रेन्ज मोडलका भेरियन्ट उपलब्ध हुनेछन् ।

महिन्द्राले सर्ट रेन्ज मोडलमा नै ४५ किलोवाट आवरको ब्याट्रीप्याक प्रयोग गरेको छ । एउटा मात्रै भेरियन्टमा उपलब्ध लङ रेन्ज मोडलमा भने ७९ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री दिएको हो । कम्पनीले सबैभन्दा पहिला ग्राहकलाई डेलिभरी नै लङ रेन्ज मोडल दिने भएको हो ।

महिन्द्राका अनुसार लङ रेन्ज मोडल ग्राहकलाई मिड मार्चमा उपलब्ध गराउने छ । त्यसपछि सर्ट रेन्जमा प्याक थ्री सेलेक्ट भेरियन्ट जुन २०२५ मा र प्याक टु जुलाई २०२५ मा ग्राहकलाई दिने योजना बनाएको छ ।

कम्पनीले सुरूवाती दुई इन्ट्री भेरियन्ट भने अगस्टबाट मात्रै बिक्री सुरू गर्ने जनाएको छ । कम्पनीले ग्राहकलाई दिने मिति घोषणासँगै सबै भेरियन्टको मूल्य पनि सार्वजनिक गरेको छ । यसअघि इन्ट्री भेरियन्ट र टप भेरियन्टको मात्रै मूल्य बाहिर आएको थियो ।

सर्ट रेन्जमा प्याक वानको मूल्य १८ लाख ९० हजार भारु, प्याक वान एभोबको मूल्य २० लाख ५० हजार र प्याक टुको मूल्य २१ लाख ९० हजार भारतीय रुपैयाँ तोकिएको छ । साथै, सर्ट रेन्जको टप भेरियन्ट प्याक थ्री सेलेक्टको मूल्य २४ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

लङ रेन्जमा उपलब्ध प्याक थ्रीको मूल्य २६ लाख ९० हजार भारतीय रुपैयाँ कायम गरिएको छ ।

महिन्द्राले बीई-६ को बुकिङ खुल्ले मिति पनि घोषणा गरेको छ । कम्पनीका अनुसार फेब्रुअरी १४ तारिखका दिन बिहान ९ बजेबाट बुकिङ खुला हुनेछ । साथै, आज फेब्रुअरी ६ तारिखबाट इच्छुक भारतीय उपभोक्तालाई टेस्ट ड्राइभ समेत खुला गरिएको छ ।


Back_to_top