किनेपछि ८ वर्ष ढुक्क हुने ‘लग्जरी ट्याक्सी’ बिक्री सुरु हुँदै

काठमाडौं । विद्युतीय साधनको प्रयोग बढ्दै जाँदा एकपछि अर्को नयाँ गाडी बजारमा आउन थालेका छन् । भिजी अटोमोवाइलले नेपालमा बिक्री सुरु गर्न लागेको सिनोगोल्ड ब्राण्डका ट्याक्सीमा गज्जपको वारेन्टी दिने भएको हो ।

भिजीले ब्याट्रीमा २ लाख किलोमिटर वा ८ वर्ष वारेन्टी दिने भएको छ । साथै, मोटरमा पनि ८ वर्ष वा २ लाख किलोमिटर वारेन्टी दिने कम्पनीले कन्ट्रोलरहरुमा पनि ८ वर्षको वारेन्टी दिने भएको हो ।

लग्जरी सेग्मेन्टमा आउन लागेको सिनोगोल्डको विद्युतीय ट्याक्सीको लम्बाइ ४५७२ एमएम लामो छ । साथै, यसको चौडाइ १८२५ र उचाइ १४९६ एमएम छ । ह्वीलवेस २६७० एमएम लामो रहेको ट्याक्सीमा ४३५ लिटरको ठूलो बुट स्पेश पाउन सकिन्छ ।

सिनोगोल्डले आफ्नो सेडान गाडीमा ४८ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा ४०५ किलोमिटर गुडाउन सकिने एनइडीसीले प्रमाणित गरेको छ । तर, यसको रियल वर्ल्डमा भने ३३० किलोमिटर हाराहारी रेन्ज आउने छ ।

सहरी क्षेत्रमा काम प्रयोग हुने ट्याक्सीमा ५० किलोवाट क्षमताको मोटर रहेको छ । यसमा ग्राउन्ड क्लियरेन्स भने १७० एमएम छ ।

निकै नरम र आरामदायी सिट भएको सेडान गाडीमा डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र ड्यासबोर्डको तल्लो भागमा इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ । अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, चारवटै चक्कामा दिइएको डिस्क ब्रेक र एयरब्यागले ढुक्कसँग चालक र यात्रुले यसमा यात्रा गर्न सक्छन् ।


Back_to_top