काठमाडौं । ओलाले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल भारतीय बजारमा सार्बजनिक गरेको छ ।
कम्पनीले बजारमा ओला रोडस्टार एक्स र रोडस्टार एक्स प्लस मोडलको इलेक्ट्रीक मोटरसाइकल सार्बजनीक गरेको हो । कम्पनीले सार्बजनिक गरेको रोडस्टार एक्स मोडलमा तीन भेरियन्ट र एक्स प्लस मोडलमा दुई भेरियन्ट समाबेष छन् ।
लगातार बजार डिलर रहेको ओलाले २०२४ को पछिल्लो दुई महिना आफ्नो बजार हिस्सा गुमाएको थियो भने जनवरीमा पुनः पहिलो स्थानमा पुग्न सफल भएको छ । बजारमा लिगेसी कम्पनीहरुले दिएको कडा प्रतिस्पर्धामा कडा रुपमा उत्रिन ओलाले पहिलो मोटरसाइकल बजारमा ल्याएको हो ।
स्कुटर सेग्मेन्टमा लिडर रहेको ओलाले ल्याएको मोटरसाइकलले भने कस्तो ब्यापार गर्छ त्यो भने हेर्न बाकि छ ।
ओला रोडस्टार एक्सको तीन भेरियन्ट अन्तर्गत २.५ किलोवाट आवर, ३.५ किलोवाट आवर र ४.५ किलोवाट आवरको ब्याट्रीप्याकमा उपलब्ध भएको छ । रोडस्टार एक्समा ७ किलोवाटको मिड माउन्टेड मोटर जडान गरिएको छ ।
रोडस्टार एक्स २.५ किलोवाट आवर भेरियन्टले एक पटकको फुल चार्जमा ११७ किलोमिटरसम्मको रेन्ज दिनेछ भने, यसको टप स्पीड १०५ किलोमिटर प्रतिघण्टा छ । यसको ३.५ किलोवाट भेरियन्टको टप स्पीड ११७ किलोमिटर प्रतिघण्टा छ ।
यसले एक पटकको फुल चार्जमा १५९ किलोमिटरसम्मको रेन्ज दिनेछ । त्यस्तै, ४.५ किलोवाट भेरियन्टको रेन्ज २०० किलोमिटर र टप स्पीड १२४ किलोमिटर प्रतिघण्टा रहेको छ ।
कम्पनीले रोडस्टार प्लसमा भने ११ किलोवाटको मिड माउन्टेड मोटर जडान गरेको छ । यसमा ४.५ किलोवाट आवर र ९.१ किलोवाट आवरको ब्याट्रीप्याक अप्सन पाइन्छ । ४.५ किलोवाट आवर भेरियन्टको रेन्ज २५२ किलोमिटर र ९.१ किलोवाट आवर भेरियन्टको रेन्ज ५०१ किलोमिटर छ । दुबै भेरियन्टको टप स्पीड भने १२५ किलोमिटर प्रतिघण्टा छ ।
यी दुबै मोडलमा ४.३ इन्चको कलरफुल एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । यस कन्सोलमा ब्लूटुथ कनेक्टिभिटी डिटेल्स, टर्न बाइ टर्न नेभिगेसन र कल एसएमएस अलर्टसँगै अन्य डिटेल्सहरु देखिने छन् ।
स्र्माट मोटरसाइकलको रुपमा बजारमा उतारीएको रोडस्टारमा रिमोट अन्लक सिस्टम, तीन राइडिङ मोड, चार्जर राख्नका लागि सानो बुट स्टोरेज स्पेस पाउन सकिन्छ ।
क्रुज कन्ट्रोल, रिभर्स मोड, फ्रन्टमा डिस्क र रियरमा ड्रमब्रेकसँगै सिंगल च्यानल एबीएस, अलोय ह्वील, ट्युबलेस टायर, टेलिस्कोपिक फोर्क र डबल रियर सक अब्जरर्बार सस्पेन्सन सेटअप दिइएको छ ।
कम्पनीले भारतीय बजारमा ओला रोडस्टार एक्स २.५ किलोवाट आवर भेरियन्टको मूल्य ७४ हजार ९९९ रुपैयाँ, ३.५ किलोवाट आवर भेरियन्टको ८४ हजार ९९९ रुपैयाँ ४.५ किलोवाट आवर भेरियन्टको ९९ हजार ९९९ रुपैयाँ तोकेको छ ।
रोडस्टार एक्स प्लस ४.५ किलोवाट आवर भेरियन्टको १ लाख ४ हजार ९९९ रुपैयाँ र ९.१ किलोवाट आवर भेरियन्टको १ लाख ५४ हजार ९९९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

