आगलागीको डरसँगै सामसङले १ लाख ८० हजार कारको ब्याट्री फेर्दै

काठमाडौं । गाडी उत्पादक कम्पनीहरुले गाडी रिकल गरेको समाचार विश्वभर सुन्न पाइन्छ । यस्ता रिकलका घटना नेपालमा विरलै हुन्छ । भएपनि कम्पनीहरु बताउँदैनन् ।

‘रिकल’ शब्द आफैँमा राम्रो नभएपनि ब्राण्डको विश्वसनियता र उपभोक्ता सुरक्षाको लागि भने राम्रो हो । त्यसैले ठूला उत्पादकले आफ्नो उत्पादनमा समस्या देखिएको खण्डमा रिकल गर्ने गर्छन् ।

कोरियन ब्याट्री निर्माता सामसङले आफ्नो ब्याट्रीमा समस्या देखिएपछि १ लाख ८० हजार कारमा प्रयोग भएको ब्याट्री फिर्ता लिने र निःशुल्क परिवर्तन गर्ने भएको छ । सामसङको ब्याट्री प्रयोग भएका फोर्ड, फक्सवागेन र स्टेलान्टीसका गाडीहरु रिकल भएको हो ।

अमेरिकाको नेशनल हाइवे ट्राफिक सेफ्टी एड्मिस्ट्रेसनले सामसङका ब्याट्रीमा समस्या देखाएसँगै कम्पनीले रिकल गर्ने भएको हो । फोर्डले सन् २०२० देखि २०२४ सम्म बनाएका गाडीमा समस्या देखिएको थियो ।

त्यसैगरी, सन् २०२२ मा बनेको फक्सवागेन ग्रुपको अउडी ए–७ र अउडी क्यू–५ मा पनि समस्या देखिएको थियो । यी गाडी कम्पनीले फिर्ता बोलाएको हो ।

स्टेलान्टीस ग्रुपको जीपका हाइब्रिड कारमा सबैभन्दा धेरै समस्या देखियो । कम्पनीको १ लाख ५० हजार ९६ युनिट कारमा रहेका ब्याट्री परिवर्तन गर्नु पर्ने भएको हो । सन् २०२० देखि २०२४ सम्म बनेका र्याङलर फोरएक्सई र २०२२ देखि २०२४ सम्म बनेका ग्राण्ड चेरोकी फोरएक्सई प्लगइन हाइब्रिडमा रहेका ब्याट्री परिवर्तन गर्न लागिएको सामसङले जनाएको छ ।

सामसङले निकै कुसलता पूर्वक ब्याट्री परिवर्तन थालेको भन्दै अमेरिकामा उसको प्रसंसा सुरु भएको छ ।


Back_to_top