भारतमा बनेका सबै ईभीको नेपालमा मूल्य कति ?

काठमाडौं । नेपालमा अहिले चीन र भारतमा उत्पादन भएका विद्युतीय कार उपलब्ध छन् । त्यसमा केही ब्राण्डले उत्पादन गरेका बाहेक भारतीय उत्पादन बजारमा छैनन् ।

भारतमा उत्पादन भएका कार नै किन्छु भन्नेले धेरै अप्सन पाउने अवस्था पनि छैन । अहिले भारतबाट सबैभन्दा धेरै ईभी टाटाले ल्याइरहेको छ । टाटाले टिगोर, टियागो, पन्च र नेक्सन ईभी ल्याएर बिक्री गर्दै आएको छ ।

टाटा बाहेक महिन्द्रा, सिट्रोन र एमजीले पनि भारतमा उत्पादन भएको ईभी नेपाली बजारमा उपलब्ध गराएका छन् । महिन्द्रा एक्सयूभी–४००, सिट्रोन ईसीथ्री र एमजी कोमेट भारतमा उत्पादन भएका इलेक्ट्रीक मोडल हुन् ।

टाटा, महिन्द्रा, सिट्रोन र एमजीका विद्युतीय कारका अलाव अहिलेसम्म भारतमा बनेर अन्य कुनै मोडल नेपाली बजारमा उपलब्ध छैनन् । अर्को कुरा भारतमा उत्पादन भएका ईभीको रेन्ज चिनियाँ उत्पादनको तुलना केही कम लाग्छ ।

कुन मोडलको मूल्य कति ?

टाटाले बिक्री गर्दै आएको सबैभन्दा सस्तो मोडल टियागो ईभी हो । यसलाई सिप्रदी ट्रेडिङले विभिन्न तीन भेरियन्टमा उपलब्ध गराउँदै आएको छ । यसको सबैभन्दा सस्तो भेरियन्ट एक्सटी भेरियन्टको २७ लाख ४९ हजार, जेडएक्स प्लस भेरियन्टको २८ लाख ९९ हजार र जेडएक्स प्लस टेक लग्जरी भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

टाटाले नै बिक्री गर्ने टिगोर ईभी विभिन्न चार भेरियन्टमा उपलब्ध छ । कम्पनीले एक्सई भेरियन्टको मूल्य २९ लाख ९९ हजार, एक्सएम भेरियन्टको ३२ लाख ५० हजार, जेडएक्स प्लसको ३४ लाख र जेडएक्स प्लस ड्यूलटोनको ३३ लाख ४९ हजार रुपैयाँ तोकेको छ ।

टाटाको अर्को सफल मोडल पन्च ईभीको इम्पावर्ड प्लस एस (एमआर) भेरियन्टको मूल्य ३४ लाख ९९ हजार, इम्पवार्ड (एलआर) को ३७ लाख ९९ हजार र इम्पावर्ड प्लस एस (एलआर) को ३९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री हुँदै आएको छ ।

केही दिनअघि मात्रै नेक्सन ईभीको फेसलिफ्ट बिक्री सुरु गरेको सिप्रदीले ४८ लाख ९९ हजार रुपैयाँ मूल्य कायम गरेर बिक्री थालेको हो ।

टाटापछि अन्य सबै ब्राण्डले एउटा एउटा मोडल मात्रै उपलब्ध गराएका छन् । एमजीले कोमेट ईभी दुई भेरियन्टमा बिक्री गर्दै आएको छ । पारामाउन्ट मोटर्सले कोमेट इन्ट्री भेरियन्टको मूल्य १९ लाख ४९ हजार र टप भेरियन्टको २२ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

महिन्द्राले एक्सयूभी ४०० लाई एउटा मात्रै भेरियन्टमा बिक्री गर्दै आएको छ । अग्नी इनकर्पोरेट प्रालिले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभीको मूल्य ५२ लाख ५० हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको हो ।

युरोपियन ब्राण्ड सिट्रोनले भारतमा उत्पादन गरेको पहिलो ईभी ईसीथ्री पनि नेपालमा राम्रो संख्यामा बिक्री हुँदै आएको मोडल हो । साँग्रिला मोटर्सले ईसीथ्रीको मूल्य ३९ लाख ५० हजार तोकेर बिक्री गर्दै आएको छ ।


Back_to_top