काठमाडौं । हेलीकप्टर सोसाइटी अफ नेपालले केही समय यता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार माध्यमहरुमा आइरहेको फेक रेष्क्युमा आफुहरुको कुनै संग्लग्नता नरहेको दाबी गरेको छ ।
नेपालको पर्यटन व्यवसायलाई प्रतिकुल असर गर्नेगरि विभिन्न प्रकारका समाचारहरु आउनु र हेलीकप्टर कम्पनीहरुलाई फेक रेष्क्यूमा लागेको आरोप लगाउनुको पछाडि कुनै गिरोहको हात रहेको सोसाईटीले दाबी गरेको छ ।
हेलीकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कंडेल शर्माले हेलीकप्टर फेक रेष्क्युमा हेलीकप्टर संचालकहरुको हात नभएको र संसारकै सबैभन्दा सस्तो सेवा आफुहरुले दिइरहेको दाबी गरे ।
उनले यस्ता फेक रेष्क्युका समाचारका कारण नेपालको पदयात्रा तथा पर्वतारोहणको क्षेत्र स्वदेश तथा विदेशमा समेत वदनाम भइरहेकाले त्यसलाई राम्रोसँग बुझेर संचारमाध्यममा यर्थात कुरा ल्याउन उनले आग्रह गरे ।
सोसाइटीका अध्यक्ष रामेश्वर थापाले नेपालमा हेलीकप्टर संचलकहरुले उत्कृष्ट सेवा दिइरहेको दाबी गर्दै कुनै निश्चित वर्गको स्वार्थको कारण आफुहरुको व्यवसायलाई बदनाम गरिरहेको आरोप लगाए ।
फेक रेष्क्युमा हेलीकप्टर संचालकहरुको संलग्नता नरहेको र रेष्क्युको प्रकियामा हेलीकप्टर कम्पनीकहरुको केवल उद्धार गर्ने काम मात्र हुने थापाले बताए ।
एजेन्ट, इन्सयोरेन्स वा अन्य कुनै पाटीले थप शुल्क उठाउने गरेको हुनसक्ने आशंका गर्दै थापाले भने ‘हाम्रो काम नेपाल आउने हरेक पर्यटकको सुरक्षामा चासो हो, हामी हरेक व्यक्तिसँग पैसा मोलमोलाई गर्दैनौं । हाम्रो स्टायडर्ड फियर रेट पर्यटन बोर्डको वेभसाईटमा प्रकाशित छ ।’
इन्स्योरेन्स कम्पनीहरुले हेलीकप्टर अपरेटरहरुलाई सिधै उडान दिनेसमेत नदिएको अवस्थामा पटक पटक अवान्छनिय आरोप लगाई समाचारमा प्रकाशन गर्नुले यसमा केही सिमित व्यक्तिहरुको ठुलो खेल रहेको थापाले दाबी गरे ।
नेपाल सरकारले फेक हेलीकप्टर रेष्क्यु विषयमा विस्तृत छानविन गर्न नेपालमा हुने पर्यटक उद्धार सम्वन्धी छानविन कार्यदल वनाएको छ । सो कार्यदलले आफ्नो प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई वुझाई सकेको छ ।
सरकारले कार्यदलको प्रतिवेदन पश्चात् यसलाई व्यवस्थित गर्न पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन सम्वन्धी कार्यविधि २०७५ लागु गरेको छ ।
हाल हेलीकप्टर सोसाइटी अफ नेपालमा ११ कम्पनी सदस्य रहेका छन् भने ति कम्पनीका ३३ वटा हेलीकप्टर मध्य २७ वटा संचालनमा रहेका छन् ।


