काठमाडौं । एमजीले लाइफस्टाइल अफरोड एसयूभी साइबर एक्स अनभिल गरेको छ । कम्पनीले आजदेखि चीनमा सुरू भएको सांघाई अटो शो २०२५ मा साइबर एक्स देखाएको हो ।
कम्पनीले बक्सी बडी डिजाइनको साइबर एक्स म्याट ब्ल्याक फिनिसमा देखाएको हो । एमजीको साइबर सिरिजको दोस्रो मोडल साइबर एक्स अल इलेक्ट्रीक भेहिकल हो । यो एसयूभी एसएआइसीको नयाँ मोडुलर इलेक्ट्रीक प्ल्याटफर्म ई३ आर्किटेक्चरमा बनेको हो । यो लाइफ स्टाइल एसयूभी सेल टु बडी डिजाइनमा बनेकोले गाडीको तौल कम भई इफिसियन्सी बढाउँछ ।
यो एसयूभीमा अन्य भन्दा फरक पपअप डिजाइनको हेडलाइट रहेको छ । जुन गाडी बन्द गर्दा बडीमा रिट्रयाक हुन्छ । यसको फ्रन्ट र रियरमा दिएको कनेक्टेड एलईडी लाइट बारले यो एसयूभीलाई मोर्डन लुक्स दिएको छ ।
एमजीको साइबर एक्समा सिल्भर र ब्ल्याक ड्युलटोन कलरको फाइभ स्पोक ह्वील रहेको छ । यो एसयूभीको ककपिट र कनेक्टिभिटी चिनियाँ स्मार्ट फोन उत्पादक ओपोले विकास गरेको हो ।

एमजीले सार्वजनिक गरेको यो एसयूभीको टेक्निकल डिटेल्स भने बाहिर ल्याएको छैन । कम्पनीले एक्सटेरियर देखाए पनि यसको इन्टेरियरको बारेमा केही बोलेको छैन ।
साइबर एक्स नेपाली बजारमा पनि आउने छ । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामोन्ट मोटर्सले साइबर एक्स सन् २०२५ भित्रै नेपाल ल्याउने सम्भावना छ ।
एमजीले आगामी दुई वर्षमा ८ वटा नयाँ मोडलको ईभी बजारमा ल्याउने घोषणा गरेको थियो । एमजीले यो वर्ष साइबर एक्सको अलावा एक नयाँ कम्प्याक एसयूभी र सेडान कार समेत लन्च गर्दैछ ।


