काठमाडौं । चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी पुग्ने सडक एक साताका लागि बन्द गरिएको छ ।
डेढ साताअघिको वर्षाले भासिएको बाह्रबिसे-तातोपानी सडकको कोप्लाङ खण्ड मर्मत गर्न एक साताका लागि सवारी आवगमन बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय, तातोपानी भन्सार, भोटेकोशी गाउँपालिका र ट्रान्सपोर्ट कम्पनीहरूको बैठकले वैशाख २८ देखि जेठ ३ गतेसम्म सडक बन्द गरेर मर्मत गर्ने निर्णय गरेको हो ।
वर्षाका कारण कोप्लाङमा सडक १५ फिट भासिएको छ । भासिएको सडक मर्मतको जिम्मा शिव खिम्ती र टीपीएस जेभीले पाएका छन् ।
भासिएको सडकमुनि भोटेकोशी नदीबाट प्लम ढलानको काम भइरहेको सडक डिभिजन कार्यालय, चरिकोटले जनाएको छ ।
भन्सारसम्म पुग्ने वैकल्पिक सडक नभएपछि करोडौं मूल्यका सामग्री बोकेका सयौं कन्टेनर लिपिङ बजारक्षेत्र र खासामा थन्किएका छन् । स्याउ, लसुन लगायत सामग्री बोकेका ५० बढी कन्टेनर रोकिएका छन् । त्यस्तै, ५०० बढी विद्युतीय कार पनि उत्रै अड्किएका छन् ।


