बीवाइडीसँगको दुरी छोट्याउँदै जिली, यस्तो छ विदेशी ब्राण्डको अवस्था

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो कार बजार चीनमा स्थानीय ब्राण्डको दबदबा बढ्दै गएको छ । सार्वजनिक भएको सन् २०२५ अप्रिल महिनाको रिटेल बिक्रीको तथ्यांकले चिनियाँ ब्राण्डको बिक्री र बजार हिस्सा निकै बलियो देखिएको हो ।

विश्वकै ठूलो न्यू इनर्जी भेहिकल निर्माता बीवाइडी चीनमा भएको रिटेल बिक्रीमा पनि सबैभन्दा अगाडि देखिएको छ । कम्पनीले अप्रिल महिनामा २ लाख ६९ हजार युनिट कार बिक्री गरेको हो । बीवाइडीले चीनको बजारमा १५.३ प्रतिशत हिस्सा एक्लै ओगटेको छ ।

बीवाइडीलाई हरेक कुरामा पच्छाइरहेको जिली ग्रुप दोस्रो स्थानमा छ । जिली ग्रुपले अप्रिल २०२५ मा २ लाख १० हजार युनिट कार बिक्री गर्न सफल भएको छ । कम्पनीको बिक्री बीवाइडीभन्दा ५९ हजार युनिटले कम देखिएको छ । जिलीले १२ प्रतिशत बजार हिस्सा आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

तेस्रो स्थानमा फक्सवागेन ग्रुप छ । चीनमा फक्सवागेनका कार एफएडब्लू र एसएआईसी दुई ग्रुपले छुट्टाछुट्टै उत्पादन र बिक्री गर्छन् । दुवैको मिलाएर फक्सवागेनले १ लाख ९३ हजार युनिट बिक्री गर्दै ११ प्रतिशत बजार हिस्सा जोगाएको छ ।

चौथो स्थानमा जापानी ब्राण्ड टोयोटा रहेको छ । टोयोटाको पनि दुई साझेदार छन् । जसमा एफएडब्लू र जीएसी ग्रुपले मिलाएर १ लाख २५ हजार युनिट कार बिक्री गरेका छन् । दुवै कम्पनीको बिक्री मिलाउँदा टोयोटाको बजार हिस्सा ७.१ प्रतिशत रहेको छ ।

सूचीको पाँचौं स्थानमा चांगान अटोमोबाइल ग्रुप रहेको छ । चांगान ग्रुपले १ लाख ५ हजार युनिट कार बिक्री गरेको छ । अप्रिल महिनाको बिक्री अनुसार चांगानको बजार हिस्सा ६ प्रतिशत रहेको छ ।

यस बाहेक चेरीले ९५ हजार युनिट कार बिक्री गर्दै ५.४ प्रतिशत बजार हिस्सा सहित बलियो उपस्थिति जनाइरहेको देखिन्छ । चेरी छैटौं स्थानमा छ ।


Back_to_top