काठमाडौं । जापानी अटोमोबाइल निर्माता कम्पनी सुजुकीले नयाँ बजेट फ्रेण्डली इलेक्ट्रीक मिनी कार ‘भिजन ई स्काइ’को उत्पादन मोडलको सडक परीक्षण सुरू गरेको छ ।
कम्पनीले बाक्लो क्यामोफ्लाजले ढाकेर युरोपको सडकमा नयाँ मिनी कारको परीक्षण गरिरहेको स्पाइ तस्बिरहरु सार्वजनिक भएका हुन् ।
कम्पनीले गत वर्ष ‘जापान मोबिलिटी शो’मा यो कारको कन्सेप्ट देखाएको थियो । युरोपेली र एसियाली बजारलाई लक्षित गरी तयार पारिएको यो गाडी सुजुकीको सबैभन्दा सस्तो र कम्प्याक्ट ‘ए-सेग्मेन्ट’ इलेक्ट्रीक कार हुने अपेक्षा गरिएको छ ।
यसको डिजाइन इन्धनबाट चल्ने प्रसिद्ध सुजुकी वागनआरसँग मिल्दोजुल्दो बक्सी र टलब्वाय प्रोफाइलको छ । यसको अगाडि प्रोजेक्ट हेडलाइट्स, ठाडो अगाडिको फेसिया र स्ल्याटेड बम्पर डिजाइन छ । साइडमा स्पोर्टी अलोय ह्वील, गोलाकार ह्वील आर्कि, फ्ल्याप डोर ह्याण्डल र सिधा बेल्टलाइन दिइएको छ।
यसको पछाडि सी आकारको पिक्सेल लाइटिङ, रुफ माउन्टेड स्पोइलर, रियर वाइपर र फराकिलो विन्डस्क्रीन छ । यसको कन्सेप्ट मोडलमा फ्युचरिष्टक ओआरभीएम भए पनि उत्पादन मोडलमा टर्न इन्डिकेटर सहितका सामान्य र व्यावहारिक साइड मिररहरू राखिएका छन्।

यसको इन्टेरियर परम्परागत जापानी सौन्दर्य र आधुनिक सुविधाहरूको राम्रो मिश्रण प्रदान गर्छ । यसमा मल्टिकलर क्याबिन र एम्बियन्ट लाइटिङ रहने छ । कन्सेप्टमा देखिएको प्रविधिमा इन्फोटेनमेन्ट र डिजिटल कन्सोलका लागि दुईवटा स्क्रीनहरू समावेश थिए । अन्य मुख्य आकर्षणहरूमा वायरलेस चार्जिङ प्याड, स्क्वायर आकारको थ्री स्पोक स्टेयरिङ ह्वील र ट्रे शैलीको ड्यासबोर्ड रहने छ ।
सुजुकी ई स्काइ इलेक्ट्रीक कारको पूर्ण विवरण अझै सार्वजनिक भएको छैन । यो ईभीले सिंगल चार्जमा २७० किमीभन्दा बढीको रेन्ज दिने आधिकारिक पुष्टि भइसकेको छ । यसमा फ्रन्ट ह्वील मोटर रहने अपेक्षा गरिएको छ भने ब्याट्रीप्याक करिब २५ देखि ३० किलेवाट आवरको हुन सक्छ ।
सुजुकीले पहिले नै ई स्काइलाई दैनिक आवतजावतका आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको बताएको थियो । यो कार अफिस आउजाउ गर्न, किनमेल गर्न, विकेन्ड मनाउन छोटो दुरीका यात्रा लागि प्रयोग गर्न सकिन्छ ।
आकारको हिसाबले ई स्काइ कन्सेप्ट ३,३९५ एमएम लामो छ। यदि उत्पादन मोडलमा पनि यो आकार कायम रह्यो भने सुजुकी ई स्काइ युरोपको ए सेग्मेन्टमा सबैभन्दा साना गाडीहरूमध्ये एक हुनेछ ।
कन्सेप्ट मोडल राइट ह्याण्ड ड्राइभमा देखिएको भए पनि युरोपमा परीक्षण भइरहेको गाडी लेफ्ट ह्याण्ड ड्राइभ मोडल हो । सुजुकीले यो नयाँ इभीलाई धेरै विश्वव्यापी बजारहरूमा उपलब्ध गराउने सम्भावना छ ।
सुजुकीले सन् २०२७ सम्ममा यो गाडी बजारमा ल्याउने सम्भावना छ । यसले टियागे ईभी, एमजी केमेट, सिट्रोन ईसीथ्री, लीप मोटर टी ०३ लगायत मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।


