काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपाली बजारमा झण्डै ३ दर्जन ब्राण्डका विद्युतीय कार भित्रिएका छन् । गत आवमा मिनिकार, ह्याचब्याक, एसयूभी, सेडान, प्रिमियम लग्जरी लगायत सेग्मेन्टमा कुल ३३ ब्राण्डका ईभी आयात भएको हो ।
गत आवमा १५ हजार कार आयात हुँदा १२ हजार ७०० युनिट ईभी आयात भएका हुन् । बजारमा ईभीको बढ्दो मागलाई मध्येनजर गर्दै व्यवसायीहरूले धमाधम नयाँ नयाँ ब्राण्डका ईभी ल्याइरहेका हुन् ।
यद्यपि, एकाध ब्राण्ड बाहेक अधिकांश सफल हुन भने सकेको देखिँदैन । मूल्य, ग्राहकको ब्राण्डप्रतिको विश्वास, सर्भिस नेटवर्क, स्पेयर पार्टस लगायतमा ध्यान दिन नसक्दा धेरै जसो नयँँ ब्राण्ड स्थापित हुन नसकेका हुन् ।
गत वर्ष ३ दर्जन ब्राण्डका विद्युतीय कार भित्रिए पनि आधा दर्जन ब्राण्डले मात्रै ५०० युनिट बढी ईभी आयात गरेका छन् भने ११ ब्राण्डले १०० युनिटको आँकडा कटाएका छन् । २२ ब्राण्डको आयात १०० युनिट भन्दा कम छ ।
कुन ब्राण्डले कति ल्याए ?
नेपाल बजारमा विगतमा जस्तै गत आवमा पनि बीवाइडी नै मार्केट लिडर बनेको छ । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले कुल ४२७० युनिट विद्युतीय कार आयात गरेको छ । जुन कुल ईभी आयातको झण्डै एकतिहाइ हिस्सा हो ।

साइमेक्सले एटो वान १२९९ युनिट, एटो टु २२६४ युनिट, एटो थ्री २५७ युनिट, सिलायन सेभेन ४४६ युनिट, एम सिक्स २ युनिट, डेन्जा डी नाइन र सिल १/१ युनिट ल्याएको छ ।
ग्लोबल ब्राण्ड, मूल्य, सर्भिसिङ सुविधा, स्पेयर पार्टसको उपलब्धता, व्यापक चार्जिङ नेटवर्क लगायत कारणले बीवाइडीले ग्राहक तान्न सफल भएको देखिन्छ ।
बीवाइडीलाई पछ्याउँदै भारतीय ब्राण्ड टाटा दोस्रो स्थानमा रहेको छ । सिप्रदी ट्रेडिङले गत आवमा कुल २२३६ युनिट विद्युतीय कार (ट्याक्सीसहित) ल्याएको छ । कम्पनीले सबैभन्दा धेरै ट्याक्सीको रूपमा बिक्री हुने टिगोर ईभी १ हजार २ युनिट ल्याएको छ । त्यस्तै, पन्च ईभी ५१५ युनिट, नेक्सन ईभी १७४ युनिट, टियागो ईभी ४९४ युनिट र कर्भ ईभी ५० युनिट ल्याएको छ ।
तेस्रोमा चिनियाँ कम्पनीकाे डोङफेङकाे नामी ब्राण्ड रहेको छ । एमएडब्लू वृद्धिले गत आवमा डोङफेङका ३ मोडल गरी कुल ९३९ युनिट नेपाल ल्याएको हो । जसमा नामी भिगो ६८७ युनिट, नामी बक्स २५० युनिट र डोङफेङ ००७ दुई युनिट ल्याएको हो । कम्पनीले गत वर्ष मात्रै बजारमा भित्र्याएको नामी भिगो अहिले हटकेक मोडल बनिरहेको छ ।
चौथो धेरै आयात हुनेमा चिनियाँ कम्पनी चांगानको दीपल ब्राण्ड रहेको छ । एमएडब्लूले दीपल ब्राण्डका ७८८ युनिट कार आयात गरेको हो । जसमा दीपल एस०५ एसयूभी ७८५ युनिट र दीपल ई ०७ ३ युनिट रहेको छ ।

गत वर्ष मात्रै नेपाल आएको आइकार ब्राण्ड पाँचौं स्थानमा आइपुग्न सफल भएको छ । एसपीजी अटोमोबाइल्सले ५१२ युनिट आइकार भी २३ आयात गरेको छ । पृथक डिजाइन, आधुनिक फिचर र मूल्यका कारण यो एसयूभी ग्राहकको रोजाइमा पर्न सफल भएको देखिन्छ ।
एसपीजीले नै बिक्री गर्ने जेको ब्राण्ड धेरै आयात हुने ईभीको छैटौं स्थानमा रहेको छ । गत आवमा जेको जे फाइभ २१२ र जे सिक्स १८९ युनिट गरी कुल ४०१ युनिट भित्रिएका हुन् ।
सातौं धेरै आयत हुनेमा पनि एसपीजीले नै बिक्री गर्ने ओमाडा रहेको छ । कम्पनीले एक वर्षमा २९४ युनिट ओमोडा ई फाइभ ल्याएको हो ।

आठौंमा भारतीय ब्राण्ड महिन्द्रा रहेको छ । अग्नि इनकर्पोरेटेडले महिन्द्राका ३ मोडल गरी कुल २६२ युनिट आयात गरेको हो । जसमा महिन्द्रा बीई सिक्स २१२, एक्सईभी नाइन ई ४४ र ईटुओ ६ युनिट रहेका छन् ।
नवौं भारत र चीन दुवै देशमा उत्पादन हुने एमजी रहेको छ । गत आवमा एमजीको ४ मोडल गरी कुल २२८ युनिट आयात भएको छ । जसमा एमजी एस फाइभ १४० युनिट, कोमेट ईभी ३९ युनिट, आइएम सिक्स ३४ र विन्डसर ईभी १५ युनिट आयात भएको छ । चीनमा उत्पादन हुने एमजी पारामाउन्ट मोटर्स र भारतमा उत्पादन हुने जीओ अटोमोबाइल्सले आयात गर्छन् ।
दशौंमा चिनियाँ स्टार्टअप ब्राण्ड लीपमोटर रहेको छ । साँग्रिला मोटर्सले गत अवामा लीपमोटर बी १० एसयूभी १३७ युनिट ल्याएको छ । कम्पनीले सी १० र टी ०३ भने एक युनिट पनि ल्याएको देखिँदैन ।

लक्ष्मी ई मोबिलिटीले केईका ईक्युट ०२/०४ गरी कुल १२० युनिट आयात गरेको छ । त्यस्तै, जीएसई (ईभी इजी ट्याक्सी) १०१ युनिट, प्रोटोन ९७ युनिट, जीडब्लू एम (ओरा) ७८ युनिट, जिली ६७ युनिट, फोरथिङ र मारुती सुजुकी ब्राण्डका समान ५०/५० युनिट आयात भएका छन् । यी बाहेक अरू कुनै ब्राण्डले पनि ५० युनिट कटाउन सकेका छैनन् ।
गत आवमा दायुन ४८ युनिट, जीएसी आयोन ३५ युनिट, जिनपेङ ३२ युनिट, हेनरी भोल्टास ३० युनिट, हुन्डाई २६ युनिट, एक्सपेङ २१ युनिट, टेस्ला १७ युनिट, बीएमडब्लू १० युनिट भित्रिएका छन् ।
किया, अउडी, अवतार, ज्यागुअर, बीएडब्लू, वुलिङ, एलईभी, जेएमईभी लगायत ब्राण्डका भने १० युनिटभन्दा कम आयात भएको छ ।


