काठमाडौं । नेपाली बजारमा बजाजको इलेक्ट्रीक स्कुटर चेतकको मूल्य फेरि बढेको छ ।
नेपालका लागि चेतक इलेक्ट्रीक स्कुटरको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले चेतक ३५०१ स्कुटरको मूल्य एकैपटक १५ हजार रुपैयाँ बढाएको हो ।
यससँगै चेतकको नयाँ मूल्य ३ लाख ६४ हजार ९०० रुपैयाँ पुगेको छ । कम्पनीले पछिल्लो २ महिनामै चेतकको मूल्य ४० हजार रपैयाँ बढाएको हो ।
२०८२ साउनमा नेपाली बजारमा लन्च हुँदा चेतकको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकिएको थियो । कम्पनीले पहिलो पटक गत जेठमा एकैपटक २५ हजार मूल्य बढाएको थियो भने अहिले १५ हजार बढाएको हो ।
बजाज चेतकमा ४.२ किलोवाट क्षमताको मोटर रहेको छ भने ३.५ किलोवाट आवरको ब्याट्रीप्याक छ । यसले एकपटकको फुलचार्जमा १५३ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।
फास्ट चार्जरबाट ३ घण्टामा ० देखि ८० प्रतिशतसम्म चार्ज हुने चेतक स्कुटरको टप स्पीड ७३ किलोमिटर प्रतिघण्टा रहेको छ । सोलिड मेटल बडी डिजाइनमा रहेको चेतकमा ५ इन्चको टीएफटी टचस्क्रीन डिस्प्ले पाइन्छ ।
साथै, एलईडी लाइट सेटअप, स्मार्ट कनेक्ट फिचर, स्मार्ट नेभिगेसन, म्युजिक एण्ड कल कन्ट्रोल, रियल टाइम, डक्युमेन्ट एक्सेस, जियो फेन्सिङ, एक्सिडेन्ट डिटेक्सन, एन्टी थेफ्ट प्रोटेक्सन, वाटर डस्ट प्रुफ, एयर अपडेट, डिस्क ब्रेक सिस्टम, अलोय ह्वील, राइड मोड, हिल होल्ड, रिभर्स मोड, प्रोटेक्सन र ३५ लिटरको अण्डरसिट स्टोरेज जस्ता सुविधा छन् ।


