काठमाडौं । भीडाको मिनी डर्ट बाइक नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले भीडाको इलेक्ट्रीक डर्ट बाइक ‘ई के ३’ बिक्री सुरू गरेको हो ।
सीजी मोटर्सले ‘ई के ३’ डर्ट बाइकको मूल्य १ लाख ९९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।
भीडा ‘ई के ३’ तीन वर्षदेखि ९ वर्षसम्मका बालबालिकाका लागि उपयुक्त हुनेछ । यो ई-बाइकको मुख्य आकर्षण भनेको यसमा दिइएको एड्जस्टेबल चेसिस हो । जसमा बालबालिकाको उमेर तथा हाइट अनुसार यसको ह्वीलबेस, ह्याण्डलबार हाइट र सिट हाइटलाई अग्लो वा होचो बनाउन सकिन्छ ।
बाइकमा सानो, मध्यम र ठूलो गरी तीन कन्फिगरेसनमा सेट गर्न सकिन्छ । केवल २२ किलोग्राम मात्रै तौल रहेको यस बाइकलाई बालबालिकाहरूले सजिलै ह्याण्डल गर्न सक्ने छन् ।

बाइकमा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिँदै कम्पनीले ह्यान्डलबारमा चेस्ट प्याड, दुर्घटना सुरक्षाको लागि म्याग्नेटिक किल स्विच, रियर मोटर कभर र वाल्क असिस्टका लागि रिमुभेबल फुटपेग जस्ता सुविधा फिचरहरू दिएको छ । यो मोडलमा पछाडिमात्रै ब्रेक पाइन्छ भने यदि चाहिएको खन्डमा फ्रन्ट ब्रेक, ठूलो टायर, सस्पेन्सन र रोड स्पेक टायर एसेशरिजका रूपमा छुट्टै लगाउन पाइन्छ ।
के३ मा ५०० वाटको मोटर र ३६० वाट आवरको रिमुभेबल लिथियम आयन ब्याट्री प्याक छ । यसमा लो, मिड र हाई गरी ३ राइडिङ मोड दिइएको छ ।
यसलाई भीडाले डिजिटल रूपमा एड्भान्स बनाएको छ । साथै यसमा एउटा मोबाइल एप पाइने छ । जसबाट बालबालिकाको प्यारेन्सले एक्सिलरेशन रेस्पन्स एड्जस्ट र राइड स्टेटिस्टिक्स मनिटर गर्न सक्नेछन् ।
भीडाको यो मोडेलले यसको मोड्युलर डिजाइन र एर्र्गोनोमिक्सको लागि अन्तर्राष्ट्रिय पुरस्कारहरू पनि प्राप्त गरेको थियो ।


