ट्रम्पलाई आधा खर्ब पर्ने सुपर लग्जरी बोइङ जेट उपहार दिँदै कतार

एजेन्सी । कतारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुपर लग्जरी बोइङ ७४७-८ जम्बो जेट विमान उपहार दिने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प यसै हप्ता गर्न लागेको भ्रमणका क्रममा कतारले उनलाई उपहार स्वरुप उक्त जहाज दिन लागेका हुन् ।

ट्रम्प यही साता दोस्रो कार्याकालकै पहिलो लामो विदेश भ्रमणमा कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स निस्कँदै छन् ।

ट्रम्पले कतार भ्रमणको क्रममा यो उपहार लिने घोषणा गर्ने अपेक्षा गरिएको छ । यसैबीच ट्रम्पले यो विमानलाई एयर फोर्स वनको रूपमा प्रयोग गर्न सक्ने अफवाह पनि चलेको थियो । तर ट्रम्पले यो महँगो उपहारको बचाऊ गरेका छन् ।

रक्षा मन्त्रालयले ४० वर्ष पुरानो एयर फोर्स वनलाई अस्थायी रूपमा विस्थापित गर्न उपहारमा कुनै शुल्क बिनाको एउटा ७४७ विमान पाउन लागेको आफ्नो सामाजिक सञ्जाल सोसल ट्र्थमा ट्रम्पले पोस्ट गरेका छन् । उपहार सार्वजनिक रूपमा निकै पारदर्शी ढंगले दिन लागिएको तर, मूर्ख डेमोक्रेट्सहरूले सो विमानका लागि डलर तिर्नपर्छ भनेर जिद्दी गरिरहेको पनि ट्रम्पले लेखेका छन् ।

ट्रम्पको सो पोस्ट आउनु अघि कतारी मिडिया सहचारी अलि अल-अन्सारीले ट्रम्पको आगामी भ्रमणमा कतारले अमेरिकी सरकारलाई जेट विमान उपहार दिन सक्ने खबरहरू छापेको थियो ।

एबीसी न्यूजका अनुसार ट्रम्पले जनवरी २०२९ मा पद छोड्नुभन्दा केही समय अघिसम्म कतार जम्बो जेटलाई आफ्नो राष्ट्रपतिको विमानको रूपमा प्रयोग गर्नेछन् ।

उड्डयन उद्योगका विज्ञहरूका अनुसार ट्रम्पले पाउने विमानको अनुमानित मूल्य करिब ४० करोड अमेरिकी डलर (साढे ५४ अर्ब नेपाली रुपैयाँ) पर्छ ।

 


Back_to_top