देशका ११ मुख्य राजमार्ग पूर्ण रूपमा बन्द, ५ एकतर्फी संचालनमा

काठमाडौं । बाढी पहिरोका कारण देशभरका ११ वटा सडक पूर्ण रुपमा बन्द भएका छन् ।

नेपाल प्रहरीका अनुसार आइतबार अपराह्न १२ बजेसम्म १६ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । तीमध्ये ११ वटा अझै पूर्ण रुपमा बन्द रहेका हुन् । ५ वटा सडक खण्डमा भने अवरोध हटाई एकतर्फी संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण संख्वासभाको भोटखोला गाउँपालिका ४, बरुणमा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रुपमा बन्द भएको छ ।

त्यस्तै, पाँचथरको फिदिम नगरपालिका ४ बरुणमा बाढी आउँदा मेची राजमार्ग, तुम्बेबा गाउँपालिका बाढी आउँदा तमोर करिडोर, याङवरक, रिजाल भीरमा बाढी आउँदा मध्यपहाडी राजमार्ग पूर्ण रुपमा बन्द भएको छ ।

त्यस्तै, बाडीकै कारण पासाङ ल्हामु राजमार्ग, जोमसोम लोमाङथाङ सडक, सहिद राजमार्ग पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, बैतडीको दशरथ चन्दमा पहिरो आउँदा महाकाली राजमार्ग, रोल्पाको ग्रामजिम र थ्वाङ गाउँपालिका वडा नं. १ र २ मा पहिरो आउँदा सहिद राजमार्ग, बागलुङको दब्ल्याङमा पहिरो खस्दा कालीगण्डकी करिडोर पनि पूर्ण रुपमा बन्द भएको छ ।

बाढीपहिरोका कारण अवरुद्ध काठमाडौं-नुवाकोट सडक कालिगण्डकी करिडोरको बागलुङखण्ड, मध्यपहाडी राजमार्गको बागलुङ खण्ड, कालिगण्डकी करिडोरको गैँडाकोट खण्ड र सहिद राजमार्ग एकतर्फी सवारी संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

 


Back_to_top