मोबिलिटी एक्स्पोमा ‘हट केक’ बन्न सक्ने तीन मोडल

काठमाडौं । साउनको तेस्रो सातादेखि सुरू हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एक दर्जन बढी नयाँ मोडल सार्वजनिक हुँदै छन् । यस्तोमा कुन गाडीले सबैभन्दा राम्रो व्यापार गर्ला भन्ने ठ्याक्कै भन्न कठिन हुन्छ ।

नेपाली उपभोक्ताको रोजाइ र ट्रेण्ड हेर्दा आउँदै गरेका केही प्रोडक्टले धेरैको ध्यान खिच्ने देखिन्छ । साउन २१ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा यी सबै गाडी सार्वजनिक हुनेछन् । यी मध्ये मुख्य चर्चा पाउन सक्ने मोडल बारे हामीले अनुमान गरेका छौं ।

नाइमा मोबिलिटी एक्स्पोमा सहभागी ब्राण्डहरू मध्ये ओमोडा/जेकोले नेपाल ल्याउने आइकार भी-२३, लीपमोटरको बी-१० र महिन्द्रा बीई-सिक्सले स्टलमा भिडभाड बढाउने अनुमान गर्न सकिन्छ ।

माथि उल्लेख गरिएका ३ मोडल मध्ये महिन्द्रा बीई-सिक्स नेपाल आइसकेको छ । अन्य दुई मोडल पनि भन्सार आइपुगेको बिक्रेताहरूको भनाइ छ । त्यसैले यी तीन मोडलमा रहेका मुख्य ब्याट्री, मोटर र साइजका विषयमा हामीले यहाँ प्रस्तुत गरेका छौं ।

आइकार भी-२३

मोबिलिटी एक्स्पोको सबैभन्दा ठूलो आकर्षण आइकार भी-२३ हुने अनुमान छ । पृथक लुक, फरक बडी डिजाइन, क्लासिक फिचर र आकर्षक फिनिसिङले गाडी किन्ने हुन् वा हेर्ने दुवैलाई एकपटक यसले तान्ने छ ।


भी-२३ को लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम र उचाइ १८४५ एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलबेस छ । २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्सको कारण साइजको आधारमा नेपालको लागि यो पर्फेक्ट कार हो ।

अफरोड क्षमता सहित आउने भी-२३ को डिपार्चर एङ्गल ४० डिग्री र अप्रोच एङ्गल ४२ डिग्री रहने छ । त्यसले यसलाई केही खराब बाटाहरूमा सजिलै चलाउन सकिन्छ ।

एसपीजी अटोमोबाइलले नेपाल ल्याउने भी-२३ मा ५९.९३ किलोवाट आवरको ब्याट्री रहनेछ । यसको रेन्ज ४०० किलोमिटर आसपास पाइने कम्पनीले जनाएको छ । यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने छ ।

भी-२३ एसयूभीको अगाडि स्मोक्ड फ्रन्ट ग्रिल, राउण्ड हेडल्याम्प, रुफ लगेज र्याक, हिडन डोर ह्याण्डल दिइएको छ । आधुनिक फिचरको लामो लिस्ट उपलब्ध आइकार भी-२३ लाइफ स्टाइल एसयूभीको रूपमा मोबिलिटी एक्स्पोमा सर्वाधिक चर्चित मोडल बन्न सक्ने देखिन्छ ।

महिन्द्रा बीई-सिक्स

भारतमा उत्पादन भएको सबैभन्दा प्रिमियम र युवामैत्री डिजाइनको कारण यसले ठूलो संख्यामा अवलोकनकर्तालाई आफूतिर आकर्षित गर्न सक्छ । बीई-सिक्सको सबैभन्दा बलियो पक्ष पनि यसको डिजाइन नै हो ।


कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नेपाल प्रवेश गरेको महिन्द्रा बीई-सिक्सको लम्बाइ ४३७१ एमएम, चौडाइ १९०७ एमएम र उचाइ १६२७ एमएम छ । कम्पनीले यसको ड्राइभिङलाई खास बनाउन २७७५ एमएम लामो ह्वीलबेस दिएको छ । ग्राउण्ड क्लियरेन्स भने २०७ एमएम अग्लो छ ।

निकै बोल्ड डिजाइनमा तयार भएको बीई-सिक्स दुई ब्याट्री अप्सनको साथ नेपालमा बिक्री सुरू हुनेछ । अग्नी इनकर्पोरेट प्रालिले नेपाल ल्याएर विभिन्न स्थानमा परीक्षण गरिरहेको बीई-सिक्समा ५९ र ७९ किलोवाट आवरको ब्याट्री छ । यसमा रहेको ब्याट्री बीवाइडीको सहायक कम्पनी फिन ड्रिम्सबाट लिइएको हो । यसको रेन्ज ४०० देखि ५५० किलोमिटरसम्म आउने अनुमान गरिएको छ । यसमा ९९ किलोवाटको इलेक्ट्रीक मोटर उपलब्ध छ ।

बाहिरी डिजाइन र क्याबिनमा उपलब्ध मोर्डन लुक तथा फिचरको कारण धेरैले मोबिलिटी एक्स्पोमा यसलाई अवलोकन गर्ने अनुमान गर्न सकिन्छ ।

लीपमोटर बी-१०

मोबिलिटी शोमा अलग पहिचान बनाउन सक्ने अर्को मोडल लीपमोटरको बी-१० हुन सक्छ । डिजाइनमा ठूलो आकर्षण नभए पनि कम्प्याक्ट एसयूभी खोज्नेको हरेक आवश्यकतालाई ध्यानमा राखेर बनेकै कारण यसले चर्चा पाउने अनुमान गर्न सकिन्छ ।

अर्को कुरा, मूल्यको कारण पनि बी-१० ले राम्रै चर्चा पाउने छ । साँग्रिला मोटर्सले यसअघि लीपमोटरको सी-१० र टी-०३ नेपाल ल्याइसकेको र मूल्य पनि आकर्षक हुने भएको कारण अवलोकनकर्ताको यसले ध्यान खिच्ने अनुमान गर्न सकिन्छ ।

लीपमोटरको बी-१० साइज पनि राम्रो छ । यसको लम्बाइ ४५१५ एमएम, चौडाइ १८८५ एमएम र उचाइ १६५५ एमएम छ । २७३५ एमएम लामो ह्वीलबेस भएको एसयूभीको ग्राउण्ड क्लियरेन्सको जानकारी आएको छैन ।

बी-१० एसयूभीमा ६७.१ किलोवाट आवर र ५६.२ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ । सम्भवतः दुवै ब्याट्री अप्सनमा बी-१० नेपाल आउने छ । यसको रेन्ज ४५० किलोमिटरसम्म हुने अनुमान छ ।


Back_to_top