काठमाडौं । टीभीएसकले आगामी साउन २१ गते आरटीआर ३१० सार्वजनिक गर्ने भएको छ । कम्पनीले भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोविलिटी एक्स्पोमा बहुप्रतिक्षीत मोटरसाइकल आरटीआर ३१० प्रदर्शनी गर्ने भएको हो ।
टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आफ्नो आरटीआर सिरिजकै सबैभन्दा पावरफुल मोटरसाइकल बिक्री सुरु गर्नेछ । बजारमा २०० सीसीदेखि ४०० सीसीसम्मका मोटरसाइकलमा देखिएको क्रेजलाई हेरेर कम्पनीले अपाचे आरटीआर ३१० नेपाल ल्याउने भएको हो ।
कम्पनी स्रोतका अनुसार टीभीएसले आपचे आरटीआर ३१० सँगै यसअघि नै बजारमा रहेको आरआर ३१० समेत पुनः बजारमा ल्याउने जनाएको छ । ३०० सीसी सेग्मेन्टमा अपाचे आरटीआर ३१० नेकेड स्पोर्टस मोटरसाइकल हो ।
नेपाली बजारमा बिक्री हुँदै आइरहेको आरआर ३१० कै नेकेड भर्सनको रुपमा बजारमा आउने आरटीआर ३१० निकै पावरफुल इन्जिन र प्रिमियम मोटरसाइकलमा पाइने फिचरका साथ आउनेछ ।
अपाचे रिसिजमा सबैभन्दा पावरफुल आरटीआर ३१० मा भएको ३१० सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिनले ३५ बीएच पावर र २७.८ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा ६ स्पीड गियरबक्सका साथै स्लीपर क्लच, स्पोर्टस् मोड, अर्वान, रेन र ट्रयाक मोडसहित ५ राइड मोड उपलब्ध हुनेछन् ।
केही दिनअघि मात्र भारतीय बजारमा सार्वजनिक भएको अपडेटेड भर्सन अपाचे आरटीआर ३१० मा लन्च कन्ट्रोल, किलेस इग्निसन, इन्जिन ब्रेकिङ कन्ट्रोल जस्ता एड्भान्स फिचर समावेस छन् । लन्च कन्ट्रोलले मोटरसाइकलको एसेलेरेसनलाई लस हुन दिदैन । साथै, र्यापिड एसेलेरेसनमा मद्दत गर्छ ।
त्यस्तै, प्रिमियम मोटरसाइकलमा हुने किलेस इग्निसन अपाचे आरटीआरमा दिइएको छ । यसका अलावा इन्जिन ब्रेकिङ कन्ट्रोलले एग्रेशिभ डाउन सिफ्ट गर्दा होस् वा डाउन हिलमा यसको तिब्रता नियन्त्रणको काम गर्छ ।
आपचे आरटीआर ३१० मा धेरै सेग्मेन्ट फ्रस्र्ट फिचरको रुपमा क्रुज कन्ट्रोल, कर्नर एबीएस, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् । यसमा ५ इन्चको टीएफटी स्मार्ट कन्सोल दिएको छ । यसमा स्मार्टफोनका साथै गोप्रो समेत कनेक्ट गर्न सकिने छ ।
टीभीएसले यसमा क्लाइमेट कन्ट्रोल फिचरको प्रयोग गरेको छ । अपाचे आरटीआरको सिट मौसम अनुसार तातो र चिसो बनाउन सकिन्छ ।
भारतीय बजारमा २ लाख ४२ हजार भारतीय रुपैयाँ सुरुवाती मूल्य रहेको आरटीआर ३१० मोटरसाइकल ट्रायम्फका ४०० सीसी मोटरसाइकलभन्दा कम मूल्यमा छ । नेपालमै एसेम्बल भएको ट्रायम्फ मोटरसाइकल ७ लाख मूल्य हाराहारीमा उपलब्ध छ ।
जगदम्बा मोटर्सले पनि नेपालमै एसेम्बल गर्ने अपाचे आरटीआर ३१० को मूल्य ६ लाख ५० हजार हाराहारी राख्ने अनुमान गर्न सकिन्छ ।


