काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा पेट्रोलियम पद्धार्थको खपत औसतमा ६.४१ प्रतिशतले बढेको छ । पछिल्लो समय क्रमशः अर्थतन्त्र चलायमान हुन थालेसँगै सबैखाले पेट्रोलियम पद्धार्थको खपत बढ्न थालेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यास सबैको खपत बढेको छ ।
गत वर्षमा पेट्रोलको खपत सबैभन्दा धेरै ८.५० प्रतिशतले बढेको छ । गत आवमा कुल ७ लाख ४६ हजार ४२० किलोलिटर पेट्रोल आयात भएको विभागको तथ्यांक छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ५८ हजार ४९० किलोलिटर धेरै हो । अघिल्लो आवमा कुल ६ लाख ८७ हजार ९३१ किलोलिटर पेट्रोल आयात भएको थियो ।
त्यसैगरी, समीक्षा अवधिमा मट्टीतेलको खपत ७.७० प्रतिशतले बढेको छ । अघिल्लो आवमा १२ हजार ८३६ किलोलिटर मट्टीतेल आयात भएकोमा गत आवमा १३ हजार ८२४ किलोलिटर आयात भएको छ ।
त्यसैगरी, गत आवमा हवाई इन्धनको खपत ६.१६ प्रतिशतले बढेको छ । गत आवमा अघिल्लो आवकोभन्दा १२ हजार १८२ किलोलिटर धेरै अर्थात् २ लाख १० हजार १२ किलोलिटर हवाई इन्धन आयात भएको छ ।
त्यस्तै, गत आवमा डिजेल आयात ३.८९ प्रतिशतले बढेको छ । अघिलो आवमा १४ लाख ११ हजार ४४० किलोलिटर डिजेल आयात भएकोमा गत आवमा १४ लाख ६६ हजार २८५ किलोलिटर आयात भएको छ । यो अघिल्लो आवको भन्दा ५४ हजार ८४५ किलोलिटर धेरै हो ।
गत वर्षमा खाना पकाउने एलपी ग्यासको आयात पनि ५.८० प्रतिशतले बढेको छ । अघिल्लो आवमा ५२ करोड ४२ लाख किलो एलपी ग्यास आयात भएकोमा गत वर्ष ५५ करोड २० लाख ४६ हजार किलो आयात भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा ३ करोड ४ लाख किलो धेरै ग्यास आयात भएको छ ।
पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुन थालेकाले इन्धनको खपत बढेको नेपाल आयल निगमले जनाएको छ । गत आवमा निर्माण गतिविधि बढ्दा सिमेन्ट, डण्डी लगायत उद्योगको संचालन अवधि बढ्दा, विकास आयोजनामा स्काभेटर, ट्रिपर लगायत उपकरण प्रयोग बढेकाले डिजेलको खपत बढेको हो ।

त्यस्तै, गत आवमा ईभीको आयात बढे पनि पर्यटकीय क्षेत्र चलायमान हुँदा र आममानिसको गतिविधि बढ्दा पेट्रोलको पनि खपत बढेको हो ।
पछिल्लो समय पर्यटन व्यवसाय गुल्जार हुँदा खाना पकाउने ग्यासको खपत बढेको हो । पर्यटकीय गतिविधि बढ्दा होटल तथा रेष्टुरेन्टहरू पूर्ण क्षमतामा संचालन हुन थालेका छन् । पछिल्लो समय इन्डक्सन चुल्होको प्रयोग बढे पनि होटलमा ग्यासको प्रयोग बढ्दा खपत बढेको हो ।
विदेशिने रकम भने घट्यो
गत वर्षको पेट्रोलियक पद्धार्थको आयात बढे पनि विदेशिने रकम भने ४.९४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा इन्धन खरिदमा कुल २ खर्ब ८९ अर्ब ८१ करोड रुपैयाँ विदेशिएको थियो भने गत आवमा २ खर्ब ७५ अर्ब ५० करोड रुपैयाँ बाहिरिएको छ ।
गत वर्षमा इन्धन खरिदका लागि अघिल्लो वर्षको भन्दा १४ अर्ब ३१ करोड रुपैयाँ कम बाहिरिएको हो । आयात बढे पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्य घट्दा विदेशिने रकम घटेको हो ।
राजस्व बढ्यो
पेट्रोलियम पद्धार्थको खपत बढ्दा सरकारलाई पनि फाइदा भएको छ । आयात बढेकाले सरकारले पाउने राजस्व पनि बढेको हो ।
अघिल्लो वर्षको तुलनामा गत वर्षमा सरकारले पेट्रोलियम पद्धार्थ आयात बापत ५ अर्ब ७२ करोड ९१ लाख रुपैयाँ धेरै राजस्व पाएको छ । अघिल्लो वर्ष पेट्रसलियम पद्धार्थए आयात बापत सरकारले १ खर्ब ९ अर्ब ८६ करोड रुपैयाँ राजस्व पाएको थियो भने गत आवमा १ खर्ब १५ अर्ब ५९ करोड रुपैयाँ राजस्व पाएको छ ।
गत वर्षमा डिजेल आयातबाट सबैभन्दा धेरै ५८ अर्ब ३८ करोड, पेट्रोलबाट ४२ अर्ब २५ करोड, हवाई इन्धनबाट २ अर्ब ९४ करोड र खाना पकाउने एलपी ग्यासबाट ११ अर्ब ६७ करोड राजस्व असुली गरेको छ ।

