काठमाडौं । बाढी पहिरोका कारण देशभरका ४ वटा सडक पूर्ण रूपमा बन्द भएका छन् ।
नेपाल प्रहरीका अनुसार बुधबार बिहान १० बजेसम्म ४ मुख्य राजमार्ग पूर्ण रूपमा बन्द रहेका हुन् । ६ वटा सडक खण्डमा भने अवरोध हटाई एकतर्फी संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुणमा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।
त्यस्तै, पाँचथरको फिदिम नगरपालिका ४ बरुणमा बाढी आउँदा मेची राजमार्ग, रसुवाको गोसाइकुण्ड गाउँपालिका ५ क्लब डाँडामा पहिरो खस्दा पासाङ ल्हामु सडक र रुकुम पश्चिमको आठबिसकोट रिजिगारमा बाढी आउँदा जाजरकोट डोल्पा सडक पूर्ण रूपमा बन्द भएको छ ।
बाढीपहिरोका कारण अवरुद्ध काठमाडौं-नुवाकोट, कालिगण्कडी करिडोरको बागलुङ र नवलपरासी पूर्व र सहिद राजमार्ग भने एकतर्फी रुपमा खुलाइएको प्रहरीले जनाएको छ ।

