सुजुकीको इन्ट्रुडर दुई महिनामा एउटै बिकेन

सुजुकी मोटरसाइकलको क्रुजर मोटरसाइकल इन्ट्रुडर २०१९ को जनवरी तथा फेब्रुअरीमा एउटा पनि बिक्री भएन । २०१७ मा भारतीय बजारमा सुजुकी इन्ट्रुडर सार्वजनिक भएको थियो । 

१५५ सीसी इन्जिन क्षमताको सुजुकी इन्ट्रुडर सुरुवाती समयमा राम्रै बजार लिएको थियो । अन्य मोटरसाइकल उत्पादक कम्पनीहरुले फ्यूल–इनजेक्टेड भेरियन्टमा क्रुजर मोटरसाइकल ल्याएकाले सुजुकी इन्ट्रुडरको बिक्रीमा असर परेको जनाइएको छ । 

२०१७ को नोभेम्बरमा इन्ट्रुडर २ हजार ३२५ वटा बिकेको थियो । दोस्रो महिना डिसेम्बमा ३ हजार २७२ वटा बिकेको यो मोटरसाइकल २०१८ को फेब्रुअरीमा आइपुग्दा ४ हजार ८९५ वटा बिक्री भएको थियो । त्यसपछि ओरालो लागेको इन्ट्रुडर २०१८ को डिसेम्बरमा आइपुग्दा ३ सय ४८ मा सिमित भएको थियो । 

२०१९ को जनवरी र फेब्रुअरी दुवै महिनामा भारतीय बजारमा इन्ट्रुडरको बिक्री शून्य भएको हो । 

सुजुकीको इन्ट्रुडर मोटरसाइकल भारतीय बजारमा सार्वजनिक भए लगत्तै नेपाली बजारमा समेत सार्वजनिक भएको थियो । नेपाली बजारमा सुजुकीको मोटरसाइकल भीजी सुजुकीले बिक्री गर्दै आएको छ । 


Back_to_top