दुई वर्ष भित्र १३ नयाँ मोडल ल्याउँदै एमजी

काठमाडौं । एसएआइसी ग्रुपको स्वामित्वमा रहेको मोरिस ग्यारेज (एमजी) ले आगामी २ वर्ष भित्रै १३ नयाँ विद्युतीय कार मोडल बजारमा ल्याउने भएको छ । कम्पनीले आगामी दुई वर्षको योजना सार्वजनिक गर्दै १.४ अर्ब अमेरिकी डलर लगानीमा १३ मोडल बजारमा ल्याउने जनाएको हो ।

एसएआइसी ग्रुपका अनुसार एमजी ब्राण्डमा आउने न्यू इनर्जी भेहिकलहरू रेन्ज एक्सटेन्डर, प्लगइन हाइब्रिड र ब्याट्री इलेक्ट्रीक हुने छन् । कम्पनीले यी सबै टेक्नोलोजीमा आधारित १३ नयाँ मोडल आगामी २४ महिना भित्र बजारमा ल्याउने जनाएको छ ।

मोरिस ग्यारे (एमजी) बेलायती ब्राण्ड हो । यसलाई सन् २००५ मा चिनियाँ सरकारी लगानी रहेको एसएआइसी ग्रुपले खरिद गरेको थियो । चिनियाँ लगानीसँगै निकै आक्रमक उत्पादनमा लागेको एमजी युरोपमा अहिले पनि सर्वाधिक सफल चिनियाँ ब्राण्डमा पर्छ ।

एसएआइसीले एमजका कार सन् २०२५ को पहिलो हाफमा नै १ लाख ५३ हजार १०० युनिट निर्यात गरेको छ । निर्यातमा अब्बल देखिएको एमजीले चीनमा भने खासै राम्रो व्यापार पाउन सकेको देखिँदैन । चिनियाँ बजारमा यस वर्षको पहिलो हाफसम्ममा केबल ५७ हजार २५४ युनिट मात्रै बिक्री गरेको छ ।

एमजीले पहिलो पटक सेमी सोलिड स्टेट ब्याट्रीमा ल्याएको एमजी-फोरको प्रि-बुकिङ भने निकै राम्रो संख्यामा रहेको रिपोर्ट बाहिर आएको थियो । चीनमा बुकिङ खुला भएको पहिलो सातामा नै २० हजारभन्दा बढी एमजी-फोर बुकिङ भएको कम्पनीको दाबी छ ।

एमजीले बुकिङ गरेर बसेका उपभोक्तालाई आगामी शुक्रबारबाट एमजी-फोर एसयूभी डेलिभरी गर्ने जनाइएको छ । नयाँ एमजी-फोर ह्याचब्याक डिजाइनमा भएपनि लम्बाइको आधारमा कम्प्याक्ट एसयूभी जस्तो ४.४ मिटर लामो छ ।

कम्पनीले आगामी दुई वर्ष भित्र ल्याउने मोडलको नाम, साइज, डिजाइन लगायतका कुरा भने जानकारी गराएको छैन ।


Back_to_top