प्राइस वारमा उत्रियो टेस्ला, नयाँ मोडल आएको एक महिनामै घटायो मूल्य

काठमाडौं । अमेरिकी इलेक्ट्रीक कार निर्माता टेस्लाले आफ्नो लङ रेन्ज मोडल-थ्रीको मूल्य घटाएको छ । चिनियाँ बजारमा बिक्री थालेको एक महिनापछि नै कम्पनीले नयाँ लङ रेन्ज मोडलको मूल्य घटाएको हो ।

रियर ह्वील ड्राइभ सिंगल मोटरमा उपलब्ध मोडल-थ्रीले सिंगल चार्जमा ८३० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । टेस्लाले यही मोडलको मूल्य १ हजार ४०० डलर घटाएर आफूलाई प्राइस वारमा सामेल गराएको हो ।

गत अगस्ट १२ मा विश्वको सबैभन्दा ठूलो ईभी बजारमा लन्च भएको लङ रेन्ज मोडल थ्री पहिलेको भन्दा ३४ हजार आरएमबी महँगो थियो । अब कम्पनीले १० हजार आरएमबी मूल्य कटौती गरेको हो ।

टेस्लाले चिनियाँ बजारमा मोडल थ्रीको खरिद अनुदान समेत दिइरहेको छ । कम्पनीले ५ वर्षसम्म शून्य प्रतिशत ब्याजदरमा फाइनान्स स्कीम दिएको छ भने ८ हजार आरएमबी बराबरको इन्स्योरेन्स निःशुल्क उपलब्ध गराएको छ ।

सन् २०२५ को पहिलो ७ महिनामा टेस्लाको मोडल थ्री १ लाख १ हजार ७७० युनिट बिक्री भएको छ । उक्त बिक्री संख्या अघिल्लो वर्षको भन्दा २६.५४ प्रतिशतले धेरै हो । कम्पनीको निर्यात भने यो ७ महिनामा ४२ प्रतिशत घटेर जम्मा ७० हजार ७१८ युनिटमा सीमित भएको छ ।

चीनमा चलिरहेको प्राइस वारले गाडी उत्पादकको नाफामा भने ठूलो असर परेको छ । चीनकै सबैभन्दा ठूलो अटो निर्माता बीवाइडीदेखि स्टार्टअप कम्पनीहरूको मुनाफा घटेको रिपोर्टहरू बाहिर आएका छन् । यस्तोमा टेस्लाको नयाँ स्टेपपछि थप प्राइस वारको सम्भावना रहेको विज्ञहरूको टिप्पणी छ ।


Back_to_top