काठमाडौं । होन्डाले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल विश्व बजारमा सार्वजनिक गरेको छ ।
जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले आफ्नो पहिलो बिग इलेक्ट्रीक मोटरसाइकल ‘होन्डा डब्लू एन ७’ नाम दिएर विश्वव्यापी बजारमा सार्वजनिक गरेको हो ।
कम्पनीले डब्लू एन ७ लाई होन्डाको पहिलो फिक्स्ड ब्याट्री इलेक्ट्रीक मोटरसाइकलको रूपमा प्रस्तुत गरेको छ । इटालीमा भएको इक्मा अटोशो २०२४ मा देखाएको यो मोटरसाइकल होन्डाको इलेक्ट्रीक फन सेगमेन्ट आधारित पहिलो मोडल हो ।
कम्पनीले निकै आकर्षक देखिने गरी नेकेड डिजाइनमा तयार पारेको होन्डा डब्लू एन ७ ईभी मोटरसाइकलमा आइसीइ ६०० सीसी बराबरको हर्सपावर र १००० सीसी बराबरको टर्क जेनेरेट गर्ने ठूलो क्षमाताको इलेक्ट्रीक मोटर जडान गरिएको छ । त्यसैले यसमा प्रदर्शन र पावर आउटपुट धेरै माथिको पाउन सकिन्छ ।
यसमा फास्ट चार्जिङ सपोर्ट गर्ने फिक्स्ड लिथियम आयन ब्याट्री दिइएको छ । यसले एक पटकको सिंगल फुल चार्जमा १३० किलोमिटरभन्दा बढीको रेन्ज दिने कम्पनीले जनाएको छ ।

कम्पनीले मोटरसाइकलमा पहिलो पटक ईभी कारहरूमा प्रयोग गरिने सीसीएसटू फास्ट चार्जिङ सपोर्ट गर्ने चार्जिङ सिस्टम दिएको छ । यस सिस्टमले ब्याट्रीलाई मात्र ३० मिनेटको समयमा ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ । होन्डाले विश्वबजारमै ईभी मोटरसाइकलमा पहिलो पटक सीसीएसटू फास्ट चार्जिङ सपोर्ट गर्ने सिस्टमको सुरुवात गरेको हो ।
डब्लू एन ७ ईभी मोटरसाइकललाई आफ्नो घर वा अन्य कुनै ठाउँमा पनि चार्ज गर्न सकिन्छ । यस्तो अवस्थामा ३ घण्टाभन्दा कम समयमा ब्याट्री फुलचार्ज हुने कम्पनीले बताएको छ ।
यसमा पूरा एलईडी लाइट सेटअप, लामो आकारको डीआरएल, क्लिप अन ह्यान्डलबारमा बार इन्ड मिरर, अलोय ह्वील, ट्युबलेस टायर, फ्रन्टमा डबल र रियरमा सिंगल डिस्कब्रेक रहेको मजबुत ब्रेकिङ सिस्टम, कम्फर्टेबल सस्पेन्सन सेअट र सुपर बाइकको जस्तै सिट पोजिसन रहेको छ ।
साथै, नेकेड, स्लिम बडी डिजाइन र आधुनिक प्रविधिमा उपलब्ध भएको यस ईभी मोटरसाइकलमा ५ इन्चको टीएफटी डिस्प्ले छ । जसमा होन्डा रोडसिंक एप मार्फत कनेक्टिभिटी सपोर्ट गर्ने सिस्टम, नेभिगेसन, कल र एसएमएस अलर्ट लगायतका धेरै सूचनाहरूको डिटेल्स हेर्न सकिने छ । यसका अलावा अन्य फिचरहरू पनि समावेस छन् ।

