ट्राफिक नियम उल्लंघन गर्नेलाई २४ घण्टे पूर्जी जारी गरिने

फाइल तस्बिर ।

काठमाडौं । ट्राफिक प्रहरीले नियम उल्लंघन गर्नेलाई कारबाही गर्दा २४ घण्टे पुर्जी (चिट) जारी गर्न थालेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै हालका लागि सवारी चालकले कुनै ट्राफिक नियम उल्लंघन गरेमा २४ घण्टे पुर्जी जारी गरिने जानकारी गराएको हो ।

गत भदौ २३ र २४ भदौमा भएको प्रदर्शनका क्रममा यातायात व्यवस्था विभाग मीनभवनमा रहेको ईडीएलभीआरएसको सर्भर क्षतिग्रस्त भएपछि हाल ट्राफिक प्रहरीको अनलाइन कारबाही तथा सचेतना कक्षा रोकिन पुगेको छ । उक्त अनलाइन सिस्टम पुनः संचालनमा नआउन्जेलका लागि ट्राफिकले भौतिक रुपमा चिट काट्न थालेको हो ।

‘…ट्राफिक प्रहरीद्वारा सडक प्रयोग गर्ने सवारी चालकले कुनै किसिमको कसुर गरेमा उक्त विभागको प्रणाली सूचारु नभएसम्म सडकमा २४ घण्टे पूर्जी जारी गर्ने व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

यसअघि ट्राफिक प्रहरीले संचालनमा ल्याएको अनलाइन कारबाही (नागरिक एपमा क्यूआर कोड देखाएमा ई-चलानमार्फत ट्राफिक प्रहरीले कारबाही गर्ने) तथा अनलाइन सचेतना कक्षाको एप्लिकेसन प्रोगाम इन्टरफेस (एपीआइ) विभागको प्रणालीसँग आबद्ध थियो ।

आन्दोलनका कारण ट्राफिक प्रहरीका कार्यालयहरु, उपकरण, पोशाक लगायत सामान जलेर नष्ट हुँदा भदौ २४ यता ट्राफिक चेकिङ रोकिएको थियो । तर, ट्राफिकले गतसातादेखि पुनः चेकिङलाई तीव्रता दिएको हो ।

चेकिङका क्रमका ट्राफिक नियम उल्लंघन गरेको भेटिएमा कारबाही गरी २४ घण्टे पूर्जी जारी गर्न थालेको हो । यद्यपि, यसअघि पनि ट्राफिकले कारबाही गर्दा २४ घण्टे पूजी जारी गर्दै आएको थियो ।

सवारी चालकले गरेको कसुर खुलाई सो कसुर बापत निजलाई हुने जरिवानाको रकम २४ घण्टा भित्र सम्बन्धित प्रहरी कार्यालय वा अधिकार प्राप्त अधिकारी समक्ष गएर बुझाउनको लागि दिइने पूर्जीलाई २४ घण्टे पूर्जी भनिन्छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा तोकिए बमोजिको कसुर हुन गएमा ट्राफिक प्रहरीले सवारी र चालकसँग सम्बन्धित कागजपत्र नियन्त्रणमा लिई २४ घण्टे पूर्जी जारी गर्न सक्दछन् ।


Back_to_top