काठमाडौं । भारतको उदयमान अटोमोवाइल ग्रुप जेएसडब्लु ग्रुपले एमजीसँगको सहकार्यमा पाएको सफलतासँगै युरोपिन कार कम्पनी ‘स्कोडा अटो फक्सवागेन इण्डिया लिमिटेड’सँग रणनीतिक साझेदारी गर्ने भएको छ ।
जेएसडब्लू ग्रुपको प्रबेशसँगै युरोपियन जाइन्टसँग मिलेर ‘सीएमपी२१ प्लेटफर्ममा आधारित नयाँ एसयूभीहरु उत्पादन गर्ने लक्ष्य राखेको छ । उक्त साझेदारीमा फक्सवागेन ग्रुपको टेक्नोलोजीमा जेएसडब्लु ग्रुपले पैसा लगाउने छ ।
फक्वागेन ग्रुपको इन्डियन युनिटले विश्वका धेरै देशमा प्रयोग हुँदै आएको महँगो ‘एमक्यूबी एओ ३७ प्लेटफर्म’ प्रयोग नगरेर ‘सीएमपी–२१ आर्किटेक्चर’को प्रयोग गर्दै आएको छ । कम्पनीको बजेट एसयूभी बनाउने प्लेटफर्ममा पेट्रोलियम पदार्थबाट चल्ने, हाइब्रिड र इलेक्ट्रीक एसयूभीहरु बन्नेछन् ।
अहिलेको अनुमान अनुसार उक्त साझेदारीमा करिब १ बिलियन युरोभन्दा माथि लगानी हुनेछ । जर्मन ब्राण्डले भारतको लागि साझेदार आवश्यक रहेको यसअघि नै जनाएको थियो । नयाँ साझेदारीसँगै भारतमा फक्सवागेनका विद्युतीय गाडी बनाउने योजना पनि अगाडि बढ्ने जनाइएको छ ।
यसअघि पनि फक्सवागेन ग्रुप इन्डियाले भारतीय कम्पनी महिन्द्रासँग साझेदारीको प्रस्ताव अघि बढाएको थियो । तर, उक्त साझेदारीको चर्चाले पूर्णता पाएन । पछिल्लो समय जेएसडब्लु ग्रुपले भने भारतीय अटोमोवाइल क्षेत्रमा ठूलो भविष्य देख्दै लगानी बढाउँदै लगेको छ । अब एमजी पनि ग्रुपको लगानी फक्सवागेन र स्कोडाका कारमा पनि हुने भएको हो ।

