टीभीएसको ३०० सीसीको पहिलो एड्भेन्चर मोटरसाइकल सार्वजनिक, मूल्य सोचेभन्दा कम

काठमाडौं । भारतको दुईपाँग्रे सवारी निर्माता टीभीएसले आफ्नो पहिलो आरटीएक्स ३०० सीसीको एड्भेन्चर मोटरसाइकल सार्वजनिक गरेको छ ।

कम्पनीले बिल्कुलै नयाँ प्लेटफर्ममा बनाएको आरटीएक्स ३०० सीसीको डबल पर्पस एड्भेन्चर मोटरसाइकल भारतीय बजारमा बिक्री सुरू गरेको हो ।

कम्पनीले आरटीएक्स ३०० बेस, टप र ब्यूल्ट टू अर्डर (बीटीओ) गरि तीन भेरियन्टमा बजारमा ल्याएको हो ।कम्पनीले निकै सेफ्टि र एड्भान्स फिचरहरू दिएर बजारमा उतारेको आरटीएक्स ३०० मोटरसाइकलको बेस भेरियन्टको मूल्य १ लाख ९९ हजार, टप भेरियन्टको २ लाख १४ हजार र बीटीओ भेरियन्टको २ लाख २९ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) तोकेको छ । कम्पनीले निर्धारण गरेको मूल्य अनुमान गरिएकोभन्दा निकै सस्तो हो ।

टीभीएसले आरटीएक्स ३०० नयाँ जेनेरेसन आरटी एक्सडी फोर इन्जिन प्लेटफर्ममा निर्माण गरेको हो । यो मोटरसाइकल जस्तोसुकै रोडमा चलाउन एकदमै सक्षम रहेको कम्पनीले जनाएको छ । यसमा प्रयोग भएको फ्रेम, चेसिस र अन्य डिजाइन कम्पनीले सबै नयाँ दिएको हो ।

आरटीएक्स ३०० निकै आकर्षित सेमीफियर्ड एड्भेन्चर टुरर डिजाइनमा छ । स्टाइलिस लुक्समा देखिएको यस मोटरसाइकलमा एलईडी हेडल्याम्प सेटअप, अग्लो विन्डस्क्रीन, मस्कुलर ट्याङ्क एक्सटेन्सन, हाई माउन्ट गरिएको फ्रन्ट बीक र बम्पर गार्डहरू, बिफि नकल गार्ड, साइड गार्ड, माउन्टिङ पोइन्ट र रियर लगेज र्याक, बास प्लेट, इन्जिन केसिङमा ब्रश गोल्डेन फिनिश, ब्ल्याक अलोय ह्वील र लङ ट्राभल सस्पेन्सन सेटअप दिइएको छ । जसले मोटरसाइकललाई अझ धेरै स्पोर्टी र रग्ड लुक्स दिन्छ।

आरटीएक्समा नयाँ आरटी एक्सडी फोर २९९.१ सीसी, सिंगल सिलिण्डर, ४ भल्भ, लिक्विड र वाटर कुल्ड, डीओएचसी इन्जिन छ। यो इन्जिनले अधिकतम ९००० आरपीएममा ३५ पीएस पावरका साथै ७००० आरपीएममा २८.५ एनएम टर्क जेनेरेट गर्छ। मोटरसाइकलमा ६ स्पीडको गियरबक्स, क्वीकसिफ्टर र स्लिप एन्ड असिस्ट क्लच पनि छ ।

यसको फ्रन्ट टायरमा १९ इन्च र रियर टायरमा १७ इन्चको अलोय ह्वील, अगाडी डब्लूपी इन्भर्टेड फोर्क र पछाडी प्रिलोड एड्जस्टेवल मोनोसक सस्पेन्सन सेटअप, ब्लक प्याटर्न ट्युबलेस टायर, डबल डिस्कब्रेकसँगै स्ट्यान्डर्ड डबल च्यानल एबीएस रहेको छ ।

टीभीएस आरटीएक्स ३०० एड्भेन्चरमा पूरा एलईडी लाइट सेटअप, ५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल, एप सहितको स्मार्टफोन कनेक्टिभिटी सिस्टम, नेभिगेसन र म्याप मिररिङ, कल एसएमएस अलर्ट, म्युजिक कन्ट्रोलर, मल्टिपल राइड मोडहरू, ट्र्याक्सन कन्ट्रोल, क्रूज कन्ट्रोल, ह्वीली मिटिगेसन, एड्भेन्चर राइडका लागि इलेक्ट्रोनिक थ्रोटल सिस्टम र टेरेन अडेप्टिभ एबीएस लगायत अत्याधुनिक फिचरहरू पाउन सकिन्छ ।

हाल नेपाली बजारमा जगदम्बा मोटर्सले टीभीएसका मोटरसाइकल बिक्री गर्दै आएको छ । कम्पनीले यो नयाँ मोटरसाइकल पनि नेपालमा ल्याउने अनुमान गर्न सकिन्छ ।


Back_to_top