काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग संचालनका लागि सुरुङमार्ग संचालनका तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय टेन्डरको म्याद थप भएको छ ।
आयोजनाले शुक्रबार एक सूचना प्रकाशित गर्दै आवेदन दिने म्याद १४ दिन थप गरेको हो । यसअघि आवेदन दिने म्याद पुस २ गते तोकिएकोमा दुई साता थपेर पुस १६ गते पुर्याइएको हो ।
नागढुंगा सुरुङमार्ग आयोजनाका निर्देशक सौजन्य नेपालले सेवा प्रदायक छनोटका लागि टेन्डरको म्याद दुई साता थपिएको बताए । उनका अनुसार टेन्डरमा आवेदन दिने विदेशी कम्पनीले नेपाली कम्पनीसँग ज्वाइन्ट भेन्चर गर्नुपर्ने शर्त तोकिएको छ ।
टेन्डरमा आवेदन दिन लागेका सम्भावति नेपाली/विदेशी कम्पनीहरूले सहकार्यका लागि केही समय माग गरेकाले टेन्डर अवधि लम्ब्याइएको उनले बताए ।
आयोजनाले गत मंसिर २६ गते ५ वर्षका लागि सुरुङमार्ग संचालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको थियो ।
सुरुङमा अत्याधुनिक प्रणाली समावेश रहेको तर सडक विभागको हालको कार्यबोझ तथा सीमित अनुभव र उपलब्ध जनशक्तिबाट सुरुङ संचालन एवम् मर्मत कठिन हुने भएकाले विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत संचालनका लागि अन्तर्राष्ट्रिय प्रतिश्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो ।
नेपालकै पहिलो यस सुरुङमार्ग निर्माणको काम सकिएको छ । सुरुङ मार्गमार्फत सवारी साधन चलाउन सक्ने अवस्था भए पनि दक्ष जनशक्ति एवम् सुरक्षाका कारण संचालनमा आउन सकिरहेको छैन ।
सुरुङ २४ सै घण्टा संचालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ । सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्न सक्छ । यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ ।
सुरुङ संचालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहने छन् । सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । त्यसपछि टोल उठाउन ५४ जना कर्मचारी रहनेछन् । ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि ८र८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।
मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर रहेको छ । सरकारले सुरुङमार्गबाट गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर (टोल) तोकिसकेको छ ।


