५ वर्षपछि दुई नयाँ मोडल लन्च गर्दै निसान

काठमाडौं । जापनी कार कम्पनी निसानले ५ वर्षपछि भारतीय बजारमा दुई नयाँ मोडल लन्च गर्ने भएको छ । निसानले सन् २०२६ मा भारतीय बजारमा ७ सिटे एमपीभी ‘ग्राभिटि’ र मिडसाइज एसयूभी ‘टेकटन’ लन्च गर्ने भएको हो ।

निसानले भारतमा सन् २०२० को डिसेम्बरमा म्याग्नाइट लन्च गरे यता कुनै नयाँ मोडल बजारमा ल्याएको छैन । नयाँ मोडल आउने भएसँगै ५ वर्षदेखि एउटै मात्र मोड बेच्दै आएका डिलरहरूले बिक्रीका लागि थप अप्सन पाउने भएका छन् ।

कम्पनीले सन् २०२६ को मार्चमा ग्राभिटि एमपीभी लन्च गर्ने घोषणा गरेको छ । रेनोको ट्राइभर बनेकै प्ल्याटफर्ममा बन्ने ग्राभिटि एमपीभीमा ७२ हर्सपावर दिने १.० लिटरको पेट्रोल इन्जिन रहने छ ।

निसान ग्राभिटि म्यानुअल र एएमटी गियरबक्समा उपलब्ध हुनेछ । रेनोको ट्राइभरभन्दा फरक डिजाइनमा आउने ग्राभिटिमा नयाँ बम्पर, सिग्नेचर लाइलिङ र अलोय ह्वील रहने छ । यसको इन्टेरियरमा पनि धेरै भिन्नताहरू पाउन सकिनेछ ।

त्यस्तै, निसानले मिडसाइज एसयूभी टेकटन सन् २०२६ को मध्यसम्म लन्च गर्ने भएको छ । रेनोको नयाँ डस्टरमा आधारित हुने निसान टेकटन आगामी जुनमा लन्च हुने अनुमान गरिएको छ ।

हुन्डाईको क्रेटा र टाटा सियरासँग प्रतिस्पर्धामा हुने निसान टेकटन निसानको फ्ल्यागशिप एसयूभी पेट्रोलको ग्रिल डिजाइनमा हुनेछ । टेकटनमा सार्प क्यारेक्टर लाइन र सी सेपको डिजाइन एलिमेन्ट रहेको छ ।

आधिकारिक रूपमा पुष्टि नभए पनि टेकटनमा १.३ लिटरको टर्बो पेट्रोल इन्जिन रहने सम्भावना रहेको छ । निसान टेकटनमा हाइब्रिड पावरट्रेनको इन्जिन समेत हुने सम्भावना छ ।


Back_to_top