पर्फेक्ट ह्याचब्याक कार किन्दा खोजौं ५ फिचर

काठमाडौं । ह्याचब्याक कारको बजार अहिले पनि ठिकठाक छ । यसअघि हुन्डाई ग्राण्ड आई-१०, मारुती सुजुकी स्वीफ्ट र सेलेरियो जस्ता मोडलको बजारमा पकड थियो ।

पेट्रोलियम पदार्थबाट चल्ने ह्याचब्याकहरू सरकारले लगाउने करको कारण निकै महँगो हुने र फिचर पनि कम मात्रै पाइन्थ्यो । तर, बजारमा ईभीको प्रवेशसँगै ह्याचब्याक कार सेग्मेन्टमा थुप्रै फिचरहरू कम मूल्यमा पाइन सुरू भएको हो ।

अहिले बजारमा आधादर्जन ब्राण्डका ह्याचब्याक कार बिक्री हुँदै आएका छन् । टाटा टियागो ईभीदेखि विलिङ विङ्गो, नामी-०१, बीवाइडी एटो-वान, बीवाइडी डल्फिन, केई इक्यूट ०४, लीपमोटर टी-०३ सम्मका मोडल ह्याचब्याक सेग्मेन्टमा छन् ।

मूल्यका हिसाबले २५ लाखबाटै ईभीहरू उपलब्ध छन् । तर, मूल्यमा केही महँगो भए पनि आफूलाई दशकौंदेखि पुष्टि गर्दै आएका हुन्डाई आई-१० नियोस, मारुती सुजुकी सेलेरियो र स्विफ्ट पनि बजारमा किन्न पाइन्छ ।

बजारमा थुप्रै छनोट छन् । यी मध्ये कुनै कार छनोट गर्ने भन्ने निर्णय लिन कठिन भइरहेको छ भने हामीले ह्याचब्याक कार छनोट गर्ने ५ तरिका तल उल्लेख गरेका छौं ।

सुरक्षामा अब्बल

सुरक्षा फिचर भित्र एयरब्यागको संख्या, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड एसिस्ट, टायर प्रेसर मोनिटर, आइएसओफिक्स चाइल्ड सिट्स, ३६० डिग्री क्यामेरा र रियर पार्किङ सेन्सर, एडास लेभल टु र कुनै पनि चल्तीका एनक्यापको क्र्यास टेस्टमा राम्रो स्कोर आएको हुनुपर्छ ।

कनेक्टीभीटी

आजकल कारहरू ग्याजेट्स भएका छन् । त्यसैले कारमै ठूलो स्क्रीन, एन्ड्रोइट अटो र एप्पल कार प्ले सपोर्ट गर्दैन भने त्यस्तो कार काम छैन । सकभर कनेक्टिभिटी वायरलेस भए राम्रो । डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, प्रिमियम साउण्ड सिस्टम, वायरलेस फोन चार्जर र कनेक्टेड कार टेक भएको मोडल खोज्नु उपयुक्त हुन्छ ।

चलाउन आरामदायी

गाडी किन्दा भविष्यमा कस्तो फिचर रहेछ । यो वा त्यो कुरा रहेन छ भन्ने अफसोस हुनेगरी किन्नु हुँदैन । त्यसैले कम्तीमा केही फिचरमा राम्रो ध्यान दिएको राम्रो । अटोमेटिक क्लाइमेट कन्ट्रोल, एडाप्टिभ क्रुज कन्ट्रोल, कीलेस एन्ट्री, पुस बटन स्टार्ट, रियर एसी भेन्ट, हाइट एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट, एम्बियन्ट लाइट जस्ता फिचर भएको खोज्नुपर्छ ।

किफायती संचालन

प्रतिकिलोमिटर लागतको हिसाबले पनि ह्याचब्याक कार किन्दा सोच्नुपर्छ । यदि, तपाईंको रोजाई पेट्रोल कार हो भने प्रतिलिटर २० किलोमिटर माइलेज दिने कार खोज्नुहोस् । होइन ईभीमा जाँदै हुनुहुन्छ भने २५० देखि ३५० किलोमिटर रेन्ज दिने ईभी पर्फेक्ट हुन्छ । साथै, गाडीको सस्पेन्सन टेस्ट गर्नुहोस् । मल्टिपल ड्राइभिङ मोड र नेपालको बाटो अनुसारको ग्राउण्ड क्लियरेन्स त हुनै पर्यो ।

प्रयोग गर्न सजिलो

गाडी किन्दा चालकको आवश्यकता मात्रै हेरेर हुँदैन । त्यसमा पनि ह्याचब्याक कार किन्दा अन्य धेरै कुरामा ध्यान दिनुपर्छ । फोल्ड गर्न मिल्ने रियर सिट, कम्तीमा ३०० लिटरको बुट स्पेस, राम्रो लेगरुम र हेडरुम चाहिन्छ । गाडीको बिल्ड क्वालिटी र ब्राण्डको रिलायबिलिटी हेर्न चाहिँ नभुल्नु नि ।


Back_to_top