कार बजारमा ६८ प्रतिशत हिस्सा एसयूभीको, कमजाेर बन्दै ह्याचब्याक

काठमाडौं । नेपाली बजारमा स्पोर्टस युटिलिटी भेहिकल (एसयूभी) सेग्मेन्टका कार सर्वाधिक लोकप्रिय देखिएको छ । सन् २०२५ (जनवरी-डिसेम्बर १५)मा भएको कुल कार आयात तथ्यांकले यस्तो देखाएको हो ।

सन् २०२५ कुल १४ हजार ५१३ युनिट कार (ईभी र पेट्रोल) आयात हुँदा एसयूभीको हिस्सा दुईतिहाई बढी अर्थात् ६८.४१ प्रतिशत रहेको हो । साढे ११ महिनामा ९ हजार ९३१ युनिट एसयूभी आयात भएका छन् ।यसमा केही युनिट एमपीभी पनि समावेश छन् ।

एसयूभी आयात वर्षेनी बढ्दो क्रममा देखिएको छ । सन् २०२४ को तुलनामा यस वर्ष एसयूभी आयात १९ प्रतिशत अर्थात् १५८४ युनिटले बढेको छ । गत वर्ष कुल ८ हजार ३४६ युनिट एसयूभी आयात भएको थियो ।

कुल कार बजारमा गत वर्ष एसयूभीको हिस्सा ६०.५६ प्रतिशत रहेकोमा यस वर्ष बढेर ६८.४१ प्रतिशत पुगेको हो ।बजारमा ह्याचब्याककै मूल्यमा एसयूभी पाइन थालेपछि माग र बिक्री दुवै बढ्न थालेको हो ।

तुलनात्मक रूपमा एसयूभीहरू उच्च ग्राउण्ड क्लियरेन्स, बलिया र ठूलो साइजका हुने भएकाले उपभोक्ताको रोजाइमा परेका हुन् । नेपालमा ३ दर्जन बढी ब्राण्डका एसयूभी उपलब्ध छन् । बजारमा ३५ लाख रुपैयाँदेखि ३ करोड बढी मूल्यका एसयूभी उपलब्ध छन् ।

ह्याचब्याक लोकप्रियता घट्दै

बजारमा एसयूभीको लोकप्रियता बढ्दा ह्याचब्याक कारको भने घट्दो देखिएको छ । सन् २०२४ मा ह्याचब्याक (मिनिकारसहित) को कुल बजार हिस्सा ३३.०८ प्रतिशत रहेकोमा यस वर्ष घटेर २२.४५ प्रतिशतमा सीमित भएको छ ।

गत वर्ष कुल ४ हजार ५५९ युनिट ह्याचब्याक कार आयात भएकोमा यस वर्ष २८.४९ प्रतिशतले घटेर ३ हजार २६० युनिटमा सीमित भएको छ ।

पछिल्लो समय बजारमा ह्याचब्याकै मूल्यमा एसयूभीहरू आउन थालेपछि बिक्री घट्न थालेको हो । ह्याचब्याक कार सानो साइज, सस्तो र सहरी क्षेत्रका लागि उपयुक्त हुन्छ । नेपालमा डेढ दर्जन बढी ब्राण्डका ह्याचब्याक कार उपलब्ध छन् । बजारमा १८ लाखदेखि नै ह्याचब्याक कार किन्न पाइन्छ ।

सेडानको माग बढ्दो

तुलनात्मक रूपमा महँगो मानिए पनि बजारमा सेडान कारको माग बढ्दो देखिएको छ । एक वर्षमै सेडानको आयात ५१.२ प्रतिशतले बढेको छ ।

गत वर्ष ८७७ युनिट सेडान आयात भएकोमा यस वर्ष ४४९ युनिटले बढेर १ हजार ३२१ युनिट पुगेको छ । आयातसँगै सेडानको बजार हिस्सा पनि बढेको छ । गत वर्ष कुल कार बजारमा सेडानको हिस्सा ६.३६ प्रतिशत रहेकोमा यस वर्ष बढेर ९.१३ प्रतिशत पुगेको छ ।

सेडान कार आकर्षक डिजाइन, लग्जरी, प्रिमियम र महँगा हुन्छन् । यद्यपि, ग्राउण्ड क्लियरेन्स कम हुने हुनाले जस्तोसुकै बाटोका लागि भने उपयोयी हुँदैन । नेपाली बजारमा आधा दर्जन बढी ब्राण्डका सेडान कार उपलब्ध छन् । सेडान कारको मूल्य ७० लाखदेखि माथि रहेको छ ।


Back_to_top