काठमाडौं । शीतलहरका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडककाे दाउन्ने खण्डमा सवारी आवगमन प्रभावित भएको छ ।
शीतका कारण दाउन्नेको सडक चिप्लो हुँदा सवारी आउजाउ हुन नसकेको हो । दाउन्नेमा सोमबारदेखि नै सवारी साधन चल्न नसकेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ । सडक चिप्लो हुँदा सवारी साधन दाउन्नेकाे उकालो चढ्न र ओरालो झर्न नसकेका हुन् ।
करिब १६ घण्टादेखि सवारी साधन जाममा फस्दा यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् । शीतलहरको प्रभाव कम भएपछि मात्र सवारी संचालन हुन सक्ने प्रहरीले जनाएको छ ।
विस्तारको क्रममा रहेको यो सडक जताततै भत्काइएको छ । माटोमा शीत परेकाले सडक वर्षायामको जस्तै चिप्लो भएको छ । प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरेको छ ।

