साढे ३ लाखसम्ममै पाइने चल्तीका तीन मोटरसाइकल

काठमाडौं । नेपाली बजारमा दर्जन बढी ब्राण्डका मोटरसाइकल बिक्री हुँदै आएका छन् । सेग्मेन्ट अनुसार न्यूनतम सवा २ लाखदेखि २० लाख रुपैयाँ माथि मूल्यसम्मका मोटरसाइकल पाइन्छ ।

कम्प्युटर सेग्मेन्टका मोटरसाकइल सस्ता छन् भने प्रिमियम स्पोर्ट बाइक तुलनात्मक रूपमा महँगा छन् । मिडियम रेन्जका मोटरसाइकल धेरै बिक्री हुनेमा पर्छन् ।

नेपालमा बजाज, यामाहा, होण्डा, हिरो, सुजुकी लगायत ब्राण्डका मिडियम रेन्जका मोटरसाइकल उपलब्ध छन् । विशेषगरी ३ लाख ५० हजार रुपैयाँसम्मका मोटरसाइकललाई बजेट फ्रेण्डली मानिन्छ ।

मोटरसाइकल किन्दा मूल्य, माइलेज, आकर्षक डिजाइन, इन्जिन पावर, परफर्मेन्स लगायत पक्ष हेर्नुपर्छ । यहाँ हामीले नेपालममै एसेम्बल भएका मध्ये ‘भ्यालु फर मनी’ बन्न सक्ने चल्तीका तीन मोडलको बारेमा चर्चा गरेका छौं ।

टीभीएस अपाचे आरटीआर १६० फोरभी रिफ्रेस एफडी

नेपाली बजारमा टीभीएसका मोटरसाइकल चर्चित छन् । यसका अधिकांश मोटरसाइकल रेसिङ डीएनए टेक्नोलोजीमा बन्ने भएकाले पावर र पर्फमेन्समा राम्रो मानिन्छ ।

नेपालमा पनि जगदम्बा मोटर्सले टीभीएसका १०० देखि ३१० सीसीसम्मका मोटरसाइकल बिक्री गर्दै आएको छ । जसमा अपाचे आरटीआर १६० फोरभी रिफ्रेस एफडी ३ लाख ३९ हजार ९०० रुपैयाँमै किन्न पाइने मोटरसाइकल हो ।

आरटीआर १६० फोरभी रिफ्रेस एफडीमा १५९.७ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्ब, आयल कुल्ड, एसआई इन्जिन छ । यसले अधिकतम १७.६३ पीएस पावर तथा १४.७३ एनएम टर्क जेनेरेट गर्छ । ११४ किलोमिटर प्रतिघण्टा टप स्पीड रहेको यस मोटरसाइकलमा ५ स्पीडको गियरबक्स छ ।

नेकेड स्पोर्ट डिजाइनमा आधारित यो मोटरसाइकलमा स्मार्ट कनेक्ट सिस्टम सहितको डिजिटल डिस्प्ले, पूरा एलईडी लाइट सेटअप, सिंगल डिस्कब्रेक, ट्युबलेस टायर, टेलिस्कोपिक फोर्क र मोनोसक सस्पेन्सन सेटअप छ ।

टीभीएस अपाचे आरटीआर १६० टूभी एफआई

टीभीएसको १६० टूभी मोटरसाइकल टीभीएसको १६० फोरभीभन्दा धेरै अघि बजारमा आएको मोडल हो । त्यो समयमा यसमा एफआई बीएस ६ सिस्टम समावेश थिएन । कम्पनीले हाल बिक्री गर्दै आइरहेको टूभी एफआई भेरियन्ट हो । नेपालमा यसको पुरानो भेरियन्ट पनि उपलब्ध छ ।

यो मोटरसाइकलमा फोरभीकै समान १५९.७ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड, टु भल्ब, एसआइ, एफआइ, बीएस ६ इन्जिन छ । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १२.७ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड १०७ किलोमिटर प्रतिघण्टा छ । यसमा पनि ५ स्पीड गियरबक्स छ ।

१६० टूभी एफआई भेरियन्टमा रेस इन्स्पायर डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्ट कनेक्ट सिस्टम, एलईडी लाइट सेटअप, डबल डिस्कब्रेक, सिंगल च्यानल एबीएस, ट्युबलेस टायर, दुई राइड मोड, फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा मोनोट्युब ग्यास फिक्स्ड स्प्रीङ ट्वीन सक सस्पेन्सन पाउन सकिन्छ ।

यसको मूल्य ३ लाख ४७ हजार ९०० रुपैयाँ रहेको । फोरभीको तुलनामा एफआइ सिस्टम भएकाले यो भेरियन्ट थोरै महँगो भएको हो ।

बजाज पल्सर १५० टीडी

बजाजको प्लसर नेपाली बजारमा निकै चर्चित मोटरसाइकल हो । सन् २००७ देखि बिक्री हुँदै आएको यो मोटरसाइकल धेरैको रोजाइमा पर्न सफल भएको देखिन्छ ।

पल्सर १५० टीडीमा १४९.५ सीसीको सिंगल सिलिण्डर, एयर कुल्ड, फोर स्ट्रोक, डीटीएसआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम १४ पीएस पावर तथा १३.४ एनएम टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलको टप स्पीड ११० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा ५ स्पीडको गियरबक्स छ ।

यसमा एनालग डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, उल्फ-आई डीसी हेडल्याम्प, इन्जिन काउल, स्पोर्टी ग्रयाबरेल, डबल डिस्कब्रेक, ट्युबलेस टायर, अलोय ह्वील, टेलिस्कोपिक फोर्क, एन्टि फ्रिक्सन बस ट्वीन नाइट्रोक्स सक अब्जर्बार रहेको छ ।

हंशराज हुलासचन्द एण्ड कम्पनीले पल्सर १५० टीडीको मूल्य ३ लाख ३८ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

मोटरसाइकलको छनोट तपाईंको दैनिक प्रयोग, माइलेजको आवश्यकता र व्यक्तिगत रुचीमा निर्भर गर्छ । यी तीनै मोडल बजेट सेग्मेन्टका लागि व्यवहारिक, भरोसायोग्य र लोकप्रिय विकल्प बन्न सक्ने देखिन्छन् ।


Back_to_top