काठमाडौं । ईभीको लागि सर्वाधिक उर्वर भूमि मानिने चीनमा तुलनात्मक रूपमा ईभी सस्तो मूल्यमा बिक्री हुँदै आएको थियो । चीन सरकारले लिएको नीतिको कारण अन्य देशको तुलनामा चीनमा ईभीको मूल्य आधा सस्तो हुन्थ्यो ।
चीनले विद्युतीय कार उत्पादकलाई उत्पादनमा आधारित अनुदान उपलब्ध गराउँदै आएको थियो । सन् २०२६ को जनवरीबाट अनुदानको मापदण्ड परिवर्तन गरेसँगै ईभीको बिक्रीमा गिरावट देखिएको हो । अब मेटल र मेमोरीहरूको मूल्य वृद्धि भएसँगै उत्पादन लागत थप महँगो हुने भएको हो ।
अनुदान कटौती, खरिद कर लागू र गाडी बनाउन प्रयोग हुने वस्तुहरूको मूल्य वृद्धिको चपेटामा चिनियाँ ईभी उद्योग पर्दै गएको देखिन्छ । यसले आजकै दिनमा ४ हजार देखि ७ हजार युआन उत्पादन लागत वृद्धि हुने अनुमान गरिएको छ ।
यूएसकी विश्लेषक पल गोङको टोलीले गत सोमबार एक रिपोर्ट सार्वजनिक गर्दै ईभी उद्योगको लागत वृद्धि भएको दाबी गरेका छन् । रिपोर्टले उपभोक्तामा त्यसको असर कति पर्छ भन्ने विषयमा केही खुलाएको छैन ।
यूएसबीले एउटा विद्युतीय कार बनाउन २०० केजी आल्मुनियम र ८० किलोग्राम तामा चाहिने अनुमान गरेको छ । यी दुई धातुको मूल्य नै विगत ३ महिनामा व्यापक वृद्धि भएको देखिन्छ ।
तीन महिना अगाडिको तुलनामा आल्मुनियम ६०० युआन, तामा १२०० युआन र लिथियममा १००० युआन वृद्धि भएको छ । समग्रमा धातुको मूल्य नै ३८०० युआन वृद्धि भएको यूएसबीको रिपोर्टमा उल्लेख छ । विगत तीन महिनामै मेमोरी चिप्सको लागत १८० प्रतिशतले वृद्धि भएको छ । त्यसको असर एउटा गाडीमा २००० युआन पर्ने दाबी यूएसबीले गरेको हो ।
विगत २ महिनामै ब्याट्री-ग्रेड लिथियम कार्बोनेटको मूल्य पनि ८० प्रतिशतले वृद्धि भएको छ ।
नेपालमा कस्तो असर ?
अहिले गाडीको मूल्यमा आकाशिएको डलर रेटले अफ्ठ्यारो पारेको छ । प्रति एक डलरको मूल्य १४७ रुपैयाँ ४१ पैसा पुगिसकेको अवस्था छ । साथै, चिनियाँ युआन पनि निकै बलियो हुँदै गएको छ । आजकै दिनमा १ युआनको लागि २१ रुपैयाँ २० पैसा तिर्नुपर्छ ।
अहिले नेपाली बजारमा बिक्री हुँदै आएका अधिकांश कारको मूल्य कायम हुँदा युआनको मूल्य १९ रुपैयाँ २० देखि ३० पैसा थियो । अहिले २ रुपैयाँभन्दा बढीले वृद्धि भइसकेको छ । यसले समग्र कारकै मूल्य वृद्धि हुने अवस्था सृजना भएको हो ।
यूएसबीले सार्वजनिक गरेको रिपोर्ट अनुसार कारको उत्पादन लागत नै वृद्धि हुने दाबी गरिएको छ । यदि, उत्पादन लागत नै बढ्ने हो भने स्वभाविक रूपमा गाडी निर्यात गर्दा पनि मूल्य बढ्ने नै छ । तर, चिनियाँ उत्पादकले अहिलेसम्म नयाँ रणनीति नबनाएको कारण के हुन्छ अहिल्यै भन्न सकिने अवस्था छैन ।

