मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीले चोरीको मोटरसाइकल सहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका ८ बाट २६ वर्षीय समिर त्वाटीलाई नियन्त्रणमा लिएको हो ।

उनलाई बागमती प्रदेश ०२-०२९ प २५९९ नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०३३ प १२८७ नम्बर राखेर चलाइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

उक्त मोटरसाइकल काठमाडौँ महानगरपालिका ४ धुम्बाराहीबाट हराएको भनि सर्लाहीको कविलासी नगरपालिका २ घर भएका प्रकाश सिंहले खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

मोटरसाइकल सहित नियन्त्रणमा आएका समिर त्वाटीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक सुवेदीले सम्पूर्णमा अनुरोध समेत गरेका छन् ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।


Back_to_top