काठमाडौं । चेरी अटोमोबाइलले आफ्नो नयाँ इलेक्ट्रीक ह्याचब्याक क्यूक्यू थ्री अर्को सातादेखि बिक्री सुरू गर्ने भएको छ । कम्पनीले गत फेब्रुअरी पहिलो सातादेखि प्रि बुकिङ खुलाएको क्यूक्यू थ्री मार्च १० तारिखमा लन्च गर्ने घोषणा गरेको हो ।
चेरीले आफ्नो पुरानो ‘क्यूक्यू’ मोडललाई ईभीमा बजारमा ल्याएसँगै ग्राहक झुम्मिएका छन् । क्यूक्यू थ्रीको प्रि बुकिङ खुलाएको ३ घण्टामै २७ हजार ३१९ जनाले अर्डर गरेका थिए । त्यस यता कति संख्यामा बुकिङ भयो भन्ने तथ्यांक कम्पनीले सार्वजनिक गरेको छैन ।
चिनियाँ निर्माताले क्यूक्यू मोडल पहिलो पटक सन् २००३ मा उत्पादन थालेको थियो । नेपाली बजारमा पनि सन् २०१०/११ सम्म क्यूक्यू ह्याचब्याक उपलब्ध थियो । चेरी क्यूक्यू विश्वभर १४ लाख युनिट बिक्री भएको मोडल थियो । सन् २०१४ बाट चेरीले क्यूक्यू ब्राण्ड बन्द गरेको थियो ।
चेरीले ल्याएको क्यूक्यू थ्री निकै मोर्डन डिजाइनमा देखिन्छ । कम्पनीले यसमा गोलो आकारको हेडलाइट र टेल लाइट प्रयोग गरेको छ । क्लोजअफ ग्रिल, सेमी हिडन डोर ह्याण्डल र दुई कलरमा सजिएको साइड मिरर पाउन सकिन्छ ।

चेरीले आफ्नो विल्कुलै नयाँ ह्याचब्याक कारको सी पिलरमा क्यू अक्षरको लोगो प्रयोग गरेको छ । ढोकाको तल्लो भागमा भने चेरीलाई ब्राण्डिङ गरिएको छ ।
बीवाइडी डल्फिनकै साइजमा उपलब्ध क्यूक्यू थ्रीको लम्बाइ ४१९५ एमएम, चौडाइ १८११ एमएम र उचाइ १५७३ एमएम छ । यसमा २७०० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । कारको क्याबिनको विभिन्न ३५ स्थानमा स्टोरेज दिइएको छ । फ्रन्ट ट्रंक ७० लिटर र ३७५ लिटरको बुट स्पेश उपलब्ध छ।

यसमा २९.५ किलोवाट आवर र ४१.५ किलोवाट आवरकाे एलएफपी ब्याट्री प्याक छ। यसले एकपटककाे फुलचार्जमा ३१० किलोमिटरदेखि ४२० किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेकाे छ ।
यसमा मोटर पनि दुई अप्सनमा पाउन सकिन्छ । एउटा मोटर ५८ किलोवाट र अर्को ९० किलोवाटको प्रयोग भएको छ । नेपालको लागि दुवै मोटर एउटै करको दायरमा आउने छ ।

क्यूक्यू थ्रीको क्याबिन पनि फिचर लोडेड बनाइएको छ । क्वालकम स्न्यापड्रागन ८१५५ चीप र दुई कलरमा सजिएको स्टेरिङ ह्वील पाउन सकिन्छ । आरमदायी सिट, १५.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, २५६ कलर मध्ये छानेर प्रयोग गर्न सकिने एम्बियन्ट लाइट यसमा प्रयोग भएको छ ।
चेरीका प्यासेन्जर कार नेपाली बजारमा एसपीजी अटोमोबाइलले बिक्री वितरण गर्दै आएको छ । कम्पनीले क्यूक्यू मोडल पनि नेपाल ल्याउन सक्ने मोडलमा पर्छ ।

