काठमाडौं । साउदी अरबले आफ्नो सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र बन्द गरेको छ ।
इरानले विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरामकोको रास तनुरा रिफाइनरी नजिकै ड्रोन आक्रमण गरेपछि साउदीले उक्त प्रशोधन केन्द्र बन्द गरेको हो ।
पर्सियन खाडीमा अवस्थित यस प्लाण्टलाई अरामकोले क्षतिको मूल्यांकन गरिरहेका बेला सावधानीका रूपमा सोमबार बिहानै बन्द गरिएको जनाएको छ ।
यो रिफाइनरी साउदी अरबको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र हो । यहाँबाट दैनिक साढे ५ लाख ब्यारेल तेल प्रशोधन हुँदै आएको छ ।
इरानको आक्रमणबाट उक्त रिफाइनरीमा क्षति पुगेको नपुगेको खुलेको छैन । तर, सावधानी अपनाउँदै बन्द गरिएको बताइएको छ ।
यो विश्वकै ठूला मध्येको एक तेल लोड गर्ने टर्मिनल समेत हो । यहाँबाट अमेरिका, एसिया र युरोपसहित विभिन्न देशहरूमा ठूलो परिमाणमा कच्चा तेल निर्यात गरिन्छ ।
शनिबार अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा द्धन्द्ध जारी छ । अमेरिका र इजरायलले अहिले पनि आक्रमण जारी राखेका छन् । इराने पनि जवाफमा साउदी, अरब, कतार, यूएई, बहराइन लगायत खाडी देशमा रहेको अमेरिकी सैन् िशिविरहरूमा आक्रमण गरिरहेको छ ।
मध्य पूर्वमा द्धन्द्ध चर्किएसँगै सोमबार विश्व बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको छ । अपराह्न ४ बजेसम्म कच्चा तेलको मूल्य करिब ८ प्रतिशत बढेर कारोबार भइरहेको छ ।

