काठमाडौं । नेपाली बजारमा १५० सीसीका मोटरसाइकल सेग्मेन्ट सबैभन्दा धेरै बिक्री हुनेमा पर्छन् । मध्यम मूल्य, कम वार्षिक सवारी कर, माइलेज लगायत कारणले १५० सीसीका मोटरसाइकल धेरेको रोजाइमा पर्ने गरेको देखिन्छ ।
१५० सीसीका मोटरसाइकल दैनिक व्यवसाय गर्ने, राइड सेयरिङ गर्नेहरूको रोजाइमा परेको देखिन्छ । हाल नेपालमा १५० सीसी सेग्मेन्टमा बजाज, यामाहा, बेनेली, सीएफमोटो र जोन्टेस जस्ता ब्राण्डको मोटरसाइकल उपलब्ध छन् ।
यी ब्राण्डका मोटरसाइकलले सरल डिजाइन, बलियो इन्जिन र कम मर्मत खर्चका कारण ग्रामीणदेखि सहरसम्म उत्तिकै लोकप्रियता कमाएका हुन् ।
ब्राण्डका अनुसार १५० सीसीका मोटरसाइकलहरूको मूल्यमा सवा २ लाख रुपैयाँसम्म फरक रहेको छ । हाल बजारमा बिक्री भइरहेका १५० सीसीका मोटरसाइकलहरूको मूल्य ३ लाख २२ हजार रुपैयाँदेखि ५ लाख ४० हजार रुपैयाँसम्म रहेको छ ।
बजाजको १५० सीसी इन्जिनमा पल्सर क्लासिक सेग्मेन्टमा दुई भेरियन्ट र पल्सर एन १५० गरी ३ भेरियन्ट अप्सनमा उपलब्ध छ ।

यामाहाले भने १५० सीसी इन्जिनमा एफजेड सिरिज अन्तर्गत दुई भेरियन्ट र एफजेडएस सिरिज अन्तर्गत चार भेरियन्ट गरी ६ अप्सन भेरियन्टमा मोटरसाइकल उपलब्ध गराएको छ । त्यसैगरी, बेनेलीको टीएनटी १५० आई, सीएफमोटोको १५० एनके र जोन्टेस १५० रहेको छ ।
बजाजको क्लासिक १५० सिंगल डिस्क र डबल डिस्क अप्सनमा किन्न पाइन्छ । नेपाली बजारमा सिंगल डिस्कको मूल्य ३ लाख ५५ हजार ९०० रुपैयाँ र डबल डिस्कको ३ लाख ६९ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै, पल्सर एन १५० को मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ छ ।
यामाहाको ६ भेरियन्ट अन्तर्गत एफजेड एफआई भीटू, एफजेड एफआई भीथ्रि बीएस ६ स्ट्यान्डर्ड, एफजेडएस एफआई भीटू, एफजेडएस एफआई बीएस ६ डिलक्स, एफजेडएस एफआई नयाँ जेन र एफजेडएस एफआई हाइब्रिड छन् । नेपाली बजारमा यामाहाको यी मोटरसाइकलको सुरूआती मूल्य ३ लाख ६६ हजार ९०० रुपैयाँ छ । टप भेरियन्टको मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

अन्य तीन ब्राण्डमा भने भेरियन्ट अप्सन छैन । बेनेली टीएनटीको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ, जोन्टेसको ५ लाख ३९ हजार ९०० रुपैयाँ र सीएफमोटोको ३ लाख २१ हजार ५०० रुपैयाँ निर्धारित छ । केही ब्राण्डको मूल्य समान जस्तै छ भने केहिको निकै अन्तर देखिन्छ । सबैभन्दा कम मूल्यमा सीएफमोटो र हाई मूल्यमा जोन्टेस ब्राण्ड छ ।
बजाज ब्राण्डको १५० पल्सरले वर्षौंदेखि नेपाली सडकमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ । अर्कोतर्फ यामाहाले १५० सीसीमै स्मुद राइड र प्रिमियम अनुभूतिको आधारमा आफ्नै वर्ग तयार गरेको छ । अन्य तीन ब्राण्डका मोटरसाइकल भने नेपाली बजारमा खासै चर्चित छैनन् । तर फिचर र डिजाइन राम्रो पाउन सकिन्छ ।
मोटरसाइकलको अगाडि देखिने एलईडी हेडलाइट र स्पोर्र्टी लुक सबै मोडलको आकर्षक पक्ष हुन् । साथै, सबैमा राइड क्वालिटी पनि उत्तिकै पाइन्छ ।यी मोटरसाइकलहरू चढ्दा स्मुदनेस महसुस हुने, हल्का क्लच, राम्रो सस्पेन्सन र स्थिरताले दैनिक प्रयोगका लागि आरामदायी बनाउँछ ।
यी मोटरसाइकलहरूमा एलईडी लाइट सिस्टम, एबीएस, डिस्कब्रेक, डिजिटल मिटर जस्ता राइडरलाई आवश्यक पर्ने प्रायः धेरै सुरक्षा फिचरहरू छन् । पावर फिगरको हिसाबले हेर्दा पनि सबै मोटरसाइकलमा १५० सीसी क्षमताको इन्जिन भएकाले लगभग उस्ता उस्तै पर्फमेन्स पाउन सकिन्छ ।
१५५-१६० सीसीमा धेरै विकल्प
यसका अलावा नेपालमा १५५ सीसी र १६० सीसीको मोटरसाइकलमा पनि धेरै विकल्प उपलब्ध छन् । यो सेग्मेन्टमा मोटरसाइकल किन्न चाहनेले भने मूल्य, फिचर र पावर पर्फमेन्समा छुट्टाछुट्टै अप्सन छनोट गर्न सक्नेछन् । यसमा हाई मूल्य भएका प्रिमियम मोडल, निकै एड्भान्स फिचरहरू भएका र कम सीसीमै पावर निकै भएका विकल्पहरू छान्न सकिन्छ ।
नेपाली बजारमा उपलब्ध १५५ सीसीमा सुजुकीको जिक्सर, यामाहाको आर १५, एमटी १५, डब्लूआर र १६० सीसीमा टीभीएस अपाचे आरटीआर, हिरो एक्सट्रीम, बजाज एनएस, एन र एभेन्जर, होण्डा एक्सब्लेड, हर्नेट लगायत मोडलहरू छन् ।
१५० सीसी र त्यो भन्दा माथि १५५ सीसी, १६० सीसीको फरकता भनेको सरकारलाई तिर्नु पर्ने कर हो । १५० सम्म थोरै र त्यो भन्दा माथिका १५५ र १६० सीसीमा अलि धरै कर तिर्नुपर्छ । यी मोटरसाइकलहरूमा फिचरहरू पनि अलि एड्भान्स दिइएको छ ।

