काठमाडौं । अब राइड सेयरिङ सेवामा १५ वर्ष पुराना सवारी साधन प्रयोग गर्न नपाइने व्यवस्था गरिने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राइड सेयरिङ जस्ता प्लेटफर्म मार्फत यातायात सेवालाई सुरक्षित, भरपर्दो बनाउन, सवारीको नियमन र व्यवस्थापन गर्न ल्याउन लागेको ‘डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड २०८२’मा यस्तो प्रस्ताव गरिएको हो ।
मन्त्रालयले तयार पारेको मस्यौदामा मोबिलिटी सेवामा प्रयोग हुने दुईपांँग्रे उत्पादन मितिले १५ वर्ष नपुगेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो ।
त्यस्तै, दुईपाँग्रे आइस सवारीको हकमा सरकारले तोकेको प्रदूषण मापदण्डभित्र रहेको, विद्युतीयको हकमा कम्तीमा १.५ किलोवाटको मोटर भएको, टपस्पीड ४० किमी प्रतिघण्टाभन्दा बढी भएको हुनुपर्नेछ ।
त्यसैगरी, चारपाँग्रे सवारीको हकमा आइसको हकमा प्रदूषण मापदण्डभित्र रहेको, ईभीको हकमा ४० किलोवाटभन्दा बढी क्षमताको मोटर भएको, कम्तीमा २०० लिटर बढी स्टोरेज स्पेस, ड्यासक्याम्प वा सीसीटीभी, फायर इक्सटिङग्युसर, रियल टाइम जीपीएस ट्रयाकिङ, सबै यात्रीका लागि सिटबेल्ट भएको सवारी मात्र प्रयोग गर्न पाइने व्यवस्था गरिएको हो ।
मन्त्रालयले देशका सातै प्रदेशमा राइड सेयरिङ सम्बन्धी सेवामा एकरूपता ल्याउन नयाँ मापदण्ड ल्याउन लागेको हो । साथै, सर्वोच्चले अदालतले २०८१ पुसमा राइड सेयरिङ सम्बन्धी व्यवसायलाई सम्बोधन गर्ने कानुन यथाशक्य चाँडो बनाउन आदेश दिएको थियो । त्यसैलाई मध्येनजर गर्दै मन्त्रालयले नयाँ केन्द्रीय मापदण्ड बनाएको हो ।
उक्त मापदण्डको मस्यौदा बारे सरोकारवालासँग सुझाव माग भइहरेको छ । प्राप्त सुझावलाई समेटी चाँडै स्वीकृत गरी कार्यान्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ ।

