प्रिमियम बजारका लागि नयाँ ब्राण्ड ल्याउँदै लीपमोटर

काठमाडौं । चिनियाँ स्टार्टअप लीपमोटरले उच्च मूल्यका बजारका लागि कार बनाउन नयाँ ब्राण्ड स्थापना गर्ने भएको छ । स्टेलान्टिस एनभीको लगानी रहेको लीपमोटरले सन् २०२७ मा पूर्णतया नयाँ ब्राण्ड ल्याउने तयारी गरेको हो ।

चिनियाँ संचार माध्यम लेटपोस्टले उल्लेख गरे अनुसार यो नयाँ ब्राण्डले ४३ हजार ९७० अमेरिकी डलरभन्दा माथिका मोडलहरूमा ध्यान केन्द्रित गर्नेछ ।

रिपोर्टका अनुसार हालको योजना अन्तर्गत कम्पनीले नयाँ ब्राण्डका लागि पूर्ण रूपमा छुट्टै र स्वतन्त्र बिक्री नेटवर्क स्थापना गर्नेछ । यद्यपि, लीपमोटरले यस विषयमा कुनै पनि आधिकारिक जानकारी दिएको छैन ।

लीपमोटरको दोस्रो ब्राण्डले कुन पावरट्रेन रणनीतिलाई प्राथमिकता दिनेछ भन्ने पनि अझै स्पष्ट छैन । प्योर इलेक्ट्रीकमा जाँदा ईभी स्टार्टअपहरूले सबैभन्दा धेरै चुनौती सामाना गर्नुपर्छ । प्लग इन हाइब्रिड वा एक्स्टेन्डेड रेन्जमा जाने हो भने लीपमोटरले हालका डी १९ र डी ९९ भन्दा नयाँ ब्राण्डका उत्पादन फरक देखाउनुपर्छ ।

लीपमोटरको हालको लाइनअप ए, बी, सी, र डी सिरिजका साथै लाफा ५ समावेश छन् । यी गाडीको मूल्य ९ हजार ५०० डलरदेखि ३९ हजार १०० डलरसम्म छ । लीपमोटरले प्योर इलेक्ट्रीक र इआरईभी भर्सनमा सेडान, एसयूभी र एमपीभीहरू उत्पादन गर्दै आएको छ ।

व्यवसायमा एक दशक बिताएको लीपमोटर गत वर्ष ५ लाख ९६ हजार युनिट सवारी साधन बिक्री गर्दै चीनको ईभी स्टार्टअपहरूमा पहिलो स्थानमा हासिल गरेको थियो । कम्पनीले गत वर्ष ९.३८ अर्ब डलर राजस्व र ७.८२ करोड डलर खुद नाफा कमाएको थियो । गत वर्ष नाफा कमाउने दुई चिनियाँ स्टार्टअप ली मोटर र लीपमोटर मात्रै हुन् ।

अटोमोटिभ परामर्शदाता फर्म ल्याण्ड रोडका अनुसार २०२५ मा सबै मोडलहरूमा लीपमोटरको भारित औसत बिक्री मूल्य लगभग १८ हजार १०० छ । जुन हाभल, माज्दा र आईकारसँग तुलना गर्न सकिन्छ । २०२६ मा लीपमोटरले दुई नयाँ मोडलहरू डी १९ र डी ९९ मार्फत उच्च बजारमा जाने योजना बनाएको छ।

लीपमोटरले २०२६ मा १० लाख सवारी बिक्री गर्ने र ७२.५ करोड डलर खुद नाफा कमाउने लक्ष्य राखेको छ ।


Back_to_top