डिलर फेरिएसँगै घट्यो कोमेट ईभीको मूल्य, अब कति ?

काठमाडौं । नेपालमा आधिकारिक बिक्रेता फेरिएसँगै एमजी कोमेट ईभीको मूल्य सस्तिएको छ ।

नेपालका लागि इन्डिया मेड एमजीको नयाँ बिक्रेता जीओ अटोमोबाइल्सले कोमट ईभीको सुरूवाती मूल्य १८ लाख ७५ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

यसअघि पारामाउन्ट मोटर्सले कोमेट ईभी १९ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको थियो । जीओ अटोमोबाइल्सले पहिलाको भन्दा १ लाख २४ हजार रुपैयाँ सस्तोमा कोमेट उपलब्ध गराएको हो ।

त्यस्तै, कम्पनीले एमजी विन्डसर ईभीको सुरूआती मूल्य ३९ लाख ७५ हजार रुपैयाँ तोकेको छ । पारामाउन्टले यसअघि विन्डसर ईभीको एक्साइट भेरियन्ट ३७ लाख ९९ हजार र एक्सक्लुसिभ भेरियन्ट ३९ लाख ९९ हजार रुपैयाँ बिक्री गर्दै आएको थियो ।

कोमेट र विन्डर दुवै ईभीको नयाँ मूल्य सीमित अवधिसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ । जीओ अटोमोबाइल्सले काठमाडौंको थापाथलीमा नयाँ शोरुम संचालनमा ल्याएको छ ।

यसअघि नेपालमा एमजी ब्राण्डका सबै सवारी साधन पारामाउन्ट मोटर्सले बिक्री गर्दै आएको थियो । अब भने भारतमा बनेको जीओ अटोमोबाइल्स र चीनमा बनेका पारामाउन्टले बिक्री गर्नेछन् ।

यो लन्चसँगै नेपालमा एमजी ब्राण्डको नयाँ अध्याय सुरू भएको जीओ अटोमोबाइल्सले जनाएको छ । नवप्रवर्तन, दिगोपन र आधुनिक डिजाइनलाई एकसाथ अघि बढाउँदै एमजीले नेपालको मोबिलिटी भविष्यलाई नयाँ रूपमा परिभाषित गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।

नेपालका लागि डिलर प्रिन्सिपल आकाश गोल्छाले जेएसडब्लू एमजी मोटर इन्डियासँग सहकार्य गर्न आफूहरू अत्यन्त उत्साहित रहेको बताएका छन् ।

‘जेएसडब्लू एमजी मोटर इन्डियासँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं। एमजीका विश्वस्तरीय गाडीहरू नेपाली ग्राहकसमक्ष ल्याउन पाउनु हाम्रो लागि महत्वपूर्ण अवसर हो। आधुनिक पूर्वाधार र उत्कृष्ट ग्राहक सेवामा केन्द्रित भएर यो डिलरशिप तयार गरिएको हो। प्रविधि, डिजाइन र दिगोपनको संयोजन रहेको एमजीको पोर्टफोलियो नेपाली ग्राहकहरूको चाहना र आकांक्षासँग राम्रोसँग मेल खानेमा हामी विश्वस्त छौं । नेपाली बजारमा एमजी ब्रान्डको बलियो र दीर्घकालीन उपस्थिति निर्माण गर्ने हाम्रो लक्ष्य रहेको छ,’ उनले भने ।


Back_to_top