काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले विद्युतीय कारको मूल्य बढ्ने देखिएको छ । सरकारले बजेट कार्यान्वयन गर्न ल्याएको आर्थिक ऐन २०८३ मा गरिएका करको नयाँ व्यवस्थाले ईभीको मूल्य बढाउने भएको हो ।
सरकारले बजेट मार्फत ईभीको कर निर्धारण गर्ने तरिका परिवर्तन गरेको छ । यसअघि मोटर पिकपावरका आधारमा कर लाग्दै आएकोमा अब उक्त व्यवस्था हटाएर गाडीको मूल्यका आधारमा कर लगाउने भएको छ । त्यस्तै, अन्तःशुल्क खारेज गर्दै नयाँ शिर्षकमा ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ लगाउने भएको छ ।
तहगत रूपमा पहिला पनि ईभीमा ४ प्रकारको कर (भन्सार, अन्तःशुल्क, सडक मर्मत दस्तुर र भ्याट) लाग्थ्यो । अहिले पनि चार तहकै (भन्सार, स्वच्छ पूर्वाधार लगानी शुल्क, सडक मर्मत भ्याट) लाग्छ ।
करका प्रकार उति नै भए पनि गणना गर्ने तरिका र दर फरक भएकाले नयाँ व्यवस्था अनुसार कर बढ्ने देखिन्छ । अहिले सबै ईभीमा भन्सार दर एउटै २० प्रतिशत बनाइएको छ । सडक निर्माण दस्तुर ५ प्रतिशत र भ्याट १३ प्रतिशत यथावत राखिएको छ ।
स्वच्छ पूर्वाधार लगानी शुल्क भने न्यूनतम २.५ प्रतिशतदेखि अधिकतम १३० प्रतिशतसम्म लाग्छ । जसमा २० लाखसम्मका कारमा २.५ प्रतिशत, २० देखि ३० लाखमा २० प्रतिशत, ३० देखि ४० लाखमा ३५ प्रतिशत, ४० देखि ५० लाखमा ९० प्रतिशत र ५० लाख माथिका कारमा १३० प्रतिशत नयाँ शुल्क लाग्छ ।
मध्यम र ठूला ईभीका भन्सार पहिलाकोभन्दा कम बनाइए पनि स्वच्छ पूर्वाधार लगानी शुल्क शिर्षकमा धेरै कर लगाइएकाले मूल्य बढ्ने देखिन्छ ।
यहाँ हामीले २० देखि ३० लाख मूल्यका गाडीको पहिला र अहिलेको करर अनुसार तुलनात्मक रूपमा हिसाब गरेका छौं ।
पुरानो र नयाँ व्यवस्था अनुसार कति फरक पर्छ ?
अहिले भन्सार कारोबार मूल्य (सीआइएफ) २० देखि ३० लाख रुपैयाँ कायम हुने अधिकांश गाडी ५० देखि १०० किलोवाटको मोटर क्षमताका छन् । यस आधारमा पुरानो व्यवस्था र नयाँ व्यवस्था अनुसार मूल्यका कति फरक पर्छ भनेर हेरेका छौं ।
पुरानो व्यवस्था अनुसार ५० देखि १०० किलोवाटसम्मको मोटर भएका ईभीमा २० प्रतिशत भन्सार, १५ प्रतिशत अन्तःशुल्क, ५ प्रतिशत सडक निर्माण दस्तुर र १३ प्रतिशत भ्याट लाग्थ्यो । यसमा सिधा हिसाबमा ५३ प्रतिशत कर लागेको देखिए पनि कुलमा ६३.७३ प्रतिशत कर लाग्थ्यो ।
उदाहरणका लागि २५ लाख रुपैयाँ मूल्यको गाडीमा २० प्रतिशत भन्सार जोडिँदा ३० लाख हुन्छ । त्यसमा १५ प्रतिशत अन्तःशुल्क जोड्दा ३४ लाख ५० हजार हुन्छ । त्यसमाथि ५ प्रतिशत सडक निर्माण दस्तुर जोड्दा गाडीको मूल्य ३६ लाख २२ हजार ५०० रुपैयाँ पुग्छ । त्यसमा १३ प्रतिशत भ्याट जोड्दा गाडीको मूल्य भन्सार बिन्दुबाट छुट्दा ४० लाख ९३ हजार ४२५ रुपैयाँ पुग्छ । व्यवसायीले त्यसमा आफ्नो नाफा राखेर ग्राहकलाई बेच्छन् ।
नयाँ व्यवस्था अनुसार २० देखि ३० लाख रुपैयाँ मूल्यमा ईभीमा २० प्रतिशत भन्सार, २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, ५ प्रतिशत सडक निर्माण दस्तुर र १३ प्रतिशत भ्याट लाग्छ । नयाँ व्यवस्था अनुसार सिधा हिसाबमा ५८ प्रतिशत कर लाग्ने देखिन्छ । तर, एकपछि अर्को कर जोडिँदै भ्याट लगाउँदा कुल ७०.८५ प्रतिशत कर लाग्छ ।
उदाहरणका लागि नयाँ व्यवस्था अनुसार २५ लाखको गाडीमा २० प्रतिशत भन्सार लगाउँदा मूल्य ३० लाख हुन्छ । त्यसमा २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा ३६ लाख हुन्छ । त्यसमाथि ५ प्रतिशत सडक निर्माण दस्तुर लगाउँदा ३७ लाख ८० हजार हुन्छ । फेरि त्यसमाथि १३ प्रतिशत भ्याट लगाउँदा गाडीको मूल्य ४२ लाख ७१ हजार रुपैयाँ पुग्छ ।
यसरी नयाँ व्यवस्था अनुसार २० देखि ३० लाख सीआइएफ मूल्य कायम हुने ईभीमा ७.१२ प्रतिशत कर बढ्ने देखिन्छ । अर्थात् पहिला २५ लाख सीआइएफ मूल्यको गाडीमा पौने २ लाख रुपैयाँ बढ्ने देखिन्छ ।
हाल यो सेग्मेन्टमा बिक्री भइरहेका बीवाइडी एटो २, एमजी एस फाइभ, दीपल एस ०५, आइकार भी २३, लिपमोटर बी १० लगायतको मूल्य कम्तीमा २ देखि साढे २ लाख रुपैयाँसम्म बढ्ने देखिन्छ । यद्यपि, कति बढाउँछन् भन्ने बिक्रेतामै भर पर्नेछ ।


