महिन्द्राले एसयूभीमा नयाँ डिजाइनको स्टेयरिङ ह्वील प्रयोग गर्ने

काठमाडौं । भारतीय अटोमोबाइल उत्पादक महिन्दले आफ्ना आगामी एसयूभीहरुमा नयाँ डिजाइनको स्टेरिङ ह्वील प्रयोग गर्ने भएको छ । कम्पनीले आफ्नो सिरिजका एसयूभीका लागि भारतमा प्याटेन्ट दर्ता गराएको हो ।

महिन्द्राले १५ अगस्ट २०२५ मा आफ्नो ‘फ्रीडम एनयू’ कार्यक्रममा चारवटा नयाँ कन्सेप्ट सार्वजनिक गरेको थियो । जसमा भिजन एक्स र भिजन एस सब ४ मिटर एसयूभी र भिजन टी र भिजन एसएक्सटी ठूला आकारका गाडी हुन् ।

कम्पनीले भिजन एस हाल भारतमा परीक्षण गरिरहेको छ । भिजन एक्स, भिजन टी र भिजन एसएक्सटी अझै पनि कन्सेप्ट चरणमै छन् । महिन्द्राको हालै दर्ता गरेको नयाँ डिजाइनको स्टेरिङ ह्वील यिनै नयाँ सिरिजका लागि प्रयोग हुनेछ ।

महिन्द्राले दर्ता गरेको पेटेन्टहरूमा दुईवटा स्टेयरिङ ह्वीलहरू देख्न सकिन्छ । जसमा एउटा भिजन एक्सका लागि हो भने अर्को भिजन टी र भिजन एसएक्सटी दुवैमा प्रयोग गरिने साझा स्टेयरिङ ह्वील हो ।

भिजन एक्समा फ्युचरिस्टिक स्टेयरिङ ह्वील डिजाइन रहेको छ । यो पूर्ण रूपमा गोलाकार नभएर केही हदसम्म आयताकार देखिन्छ। यो फोर स्पोक स्टेयरिङ ह्वील हो ।

महिन्द्राले गत वर्ष मुम्बईमा प्रदर्शन गरेका चारवटै कन्सेप्ट गाडीहरू कम्पनीको नयाँ एनयू आईक्यू प्लेटफर्ममा आधारित छन् । यो एक मोड्युलर र स्केलेबल (आवश्यकता अनुसार बढाउन वा घटाउन मिल्ने) प्लेटफर्म हो । जसले विभिन्न प्रकारका ऊर्जा प्रणाली (पेट्रोल, डिजेल, ईभी) लाई समर्थन गर्दछ । यो नयाँ प्लेटफर्मले भारत र विश्वका लागि नवप्रवर्तन र स्मार्ट सुविधाहरूको सीमालाई थप फराकिलो बनाउँदैछ।

यी कन्सेप्टहरूबाट विकसित हुने उत्पादन विशिष्ट संस्करणहरू दक्षिण अफ्रिका, अस्ट्रेलिया र अन्य जस्ता विश्वव्यापी बजारहरूमा बिक्री गरिने ग्लोबल मोडलहरू हुने अपेक्षा गरिएको छ।

महिन्द्राले भिजन एस भारतमा परीक्षण सुरू गरिसकेको छ । यो सब फोर मिटर एसयूभी सेग्मेन्टका लागि स्कोर्पियो ब्राण्डकै एउटा विस्तारित रूप हुने अनुमान गरिएको छ । जसमा परिष्कृत अल फोर इन्डिपेन्डेन्ट सस्पेन्सन र अन्य अत्याधुनिक सुविधाहरू समावेश हुनेछन् ।

भिजन एक्स भिजन टी र भिजन एसएक्सटी कन्सेप्टहरूका बारेमा अहिलेसम्म धेरै जानकारी बाहिर आएको छैन । सुरुवाती जानकारी अनुसार भिजन एक्स आकर्षक रेखाहरू र एयरोडायनामिक प्रोफाइल भएको एउटा प्रविधिमैत्री सब फोर मिटर एसयूभी हो।

भिजन एक्सको विपरित भिजन टी कन्सेप्ट पूर्ण रूपमा मजबुत र शक्तिशाली देखिन्छ । नाममा रहेको ‘टी’अक्षरले थारलाई सङ्केत गर्ने अनुमान गरिएको हुनाले यसलाई थार रक्सको इलेक्ट्रीक कन्सेप्टको रूपमा प्रचार गरिएको छ ।


Back_to_top