काठमाडौं । हार्ले डेभिडसनको इलेक्ट्रीक ब्रान्ड लाइभ वायरले दुई नयाँ इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गरेको छ ।
कम्पनीले अन्तर्राष्ट्रिय बजारमा युवा र नयाँ राइडरलाई लक्षित गर्दै एस फोर होन्चो ट्रेल र स्ट्रीट गरि दुई नयाँ इलेक्ट्रीक मोटरसाइकल लन्च गरेको हो ।
यसअघि मध्यम आकार र साना बच्चाका लागि ब्यालेन्सिङ इलेक्ट्रीक मोटरसाइकल बनाउँदै आएको लाइभ वायरले पहिलो पटक युवा लक्षित मोटरसाइकल बजारमा ल्याएको हो । कम्पनीले ल्याएको यी नयाँ ईभी मोटरसाइकल पेट्रोल १२५ सीसी इन्जिन बराबरको क्षमतामा उपलब्ध छन् ।
एस फोर होन्चो ट्रेल विशेष रूपमा अफरोड तथा ट्रेल राइडिङका लागि तयार गरिएको छ । स्ट्रीट हाइवे तथा अन्य सडकमा कानुनी रूपमा चलाउन मिल्ने मोडल हो । दुवै मोटरसाइकलमा ट्युबुलर स्टिल फ्रेम प्रयोग गरेर बनाइएको हो । ब्याट्री बक्सलाई चेसिससँगै प्रयोग गरिएको देखिन्छ ।
ट्रेल मोडलमा हेडलाइट, इन्डिकेटर, डिजिटल क्लस्टर, टेल लाइट तथा रियर भ्यू मिरर जस्ता उपकरण हटाइएको छ । साथै, यसमा अफरोडका लागि उपयुक्त डर्ट टायर प्रयोग गरिएको छ । स्ट्रीट मोडलमा भने सडकका लागि उपयुक्त हुने टायर पाउन सकिन्छ ।
दुवै मोटरसाइकलमा समान विद्युतीय पावरट्रेन प्रयोग गरिएको छ । यसमा दुईवटा सहजै निकाल्न मिल्ने १.७४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ । सामान्य अवस्थामा यी मोटरसाइकलले ८५ किलोमिटर रेन्ज र ३२ किलोमिटर प्रतिघण्टासम्मको स्थिर गतिमा ११७.५ किलोमिटर रेन्ज दिन्छन् । दुबै मोटरसाइकलको टप स्पीड ९५ किलोमिटर प्रतिघण्टा रहेको छ ।
३ सेकेन्डमै ० देखि ४८ किलोमिटर प्रतिघण्टाको रफ्तार पकड्ने एस फोर होन्चो ट्रेलको तौल ११४.७ र स्ट्रीटको १२०.६ किलोग्राम छ । सीट हाइट क्रमशः ७३६.६ एमएम र ७६२ एमएम भएकाले होचा राइडरका लागि पनि उपयुक्त हुने कम्पनीले जनाएको छ ।
लाइभ वायरले यी मोटरसाइकलहरू ताइवानको प्रसिद्ध स्कुटर निर्माता किम्कोसँगको सहकार्यमा विकास गरेको हो । किम्को उन्नत लोनेक्स स्वापेवल ब्याट्री प्रणालीका लागि परिचित कम्पनी हो ।
यही वर्षभित्रै बेलायती बजारमा बिक्री सुरु हुन लागेको एस फोर होन्चो ट्रेल मोडलको मूल्य ४ हजार ५९९ युरो र स्ट्रीटको ४ हजार ९९९ युरो तोकेको छ ।


