काठमाडौं । नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकआपसमा सहकार्य गर्ने भएका छन् ।
सोमबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसंग भेटगरी ट्राफिक व्यवस्थापनमा देखिएका विभिन्न समस्याहरूका सम्बन्धमा विस्तृत छलफल गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख काफ्लेले कार्यालय र नाडा बीच क्रिएटिभ र दीर्घकालीन उद्देश्यका विषयहरूमा सहकार्यगरी अघि बढ्नुपर्ने बताए ।
उनले नाडाले राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रमहरू संचालन गर्नु पर्ने भन्दै नाडाले एआई प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थाका लागि समेत पहल गर्नुपर्ने बताए ।
उनले पहाडीक्षेत्रमा चल्नु पर्ने ठूला सीसीका बाइकहरू पनि काठमाडौं जस्ता शहरभित्र चल्ने गरेको गुनासो गर्दै बाइकको तुलनामा स्कुटरको दुर्घटना कम हुने गरेको तथ्य केलाए ।
उनले सवारी साधन खरिद गर्ने हरेक ग्राहक, सर्भिस सेन्टर र पहिलो पटक सवारी साधन चलाउन लाइसेन्स लिने हरेक व्यक्तिले उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट करिब १ घण्टा अवधिको छोटो प्रशिक्षण लिनुपर्ने व्यवस्थाका लागि आग्रह गर्दै यसबाट ट्राफिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नाडाका अध्यक्ष उपे्रतीले सो कार्यालयसंग नाडाले विगतमा गरेको सहकार्यबारे चर्चा गरे । उनले नाडाले आफ्नो आउँँदो ५०औं वार्षिक साधारण सभा (असार १३ गतेदेखि १९ गतेसम्म) राजधानीमा विभिन्न कार्यक्रमहरू सहित विशेष सप्ताहव्यापी कार्यक्रम मनाउन लागेको जानकारी दिए ।
उनले उक्त कार्यक्रमलाई थप भव्य र प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयको भूमिका महत्वपूर्ण हुने भएकोले आवश्यक सहयोगका लागि आग्रह समेत गरे । यसै क्रममा नाडाका अध्यक्ष उप्रेतीले नाडाले स्टिकर मार्फत ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न गर्ने जानकारी दिए ।


