नेपालमै होन्डाको मोटरसाइकल बनाउन जुट्यो स्याकार ट्रेडिङ

काठमाडौं । जापानी ब्रान्ड होन्डाका मोटरसाइकल नेपालमै बन्ने भएको छ । ज्योति ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले होन्डाका मोटरसाइकल नेपालमै एसेम्बल गर्ने तयारी गरेको छ ।

सरकारले सवारी एसेम्बल गर्न चाहनेहरुका लागि नीतिगत स्पष्टता बनाउँदै लगेकाले सवारी एसेम्बल गर्न अध्ययन सुरु गरिएको स्याकार कम्पनीले जनाएको छ । सरकारले गत वर्षको बजेटमा पनि उत्पादन प्रयोजनका लागि ल्याइने सामानमा केही छुट दिने नीति लिएको स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले बताए । 

गत वर्षको बजेटमा मोटरसाइकलको उत्पादनका लागि ल्याइने सामानमा २५ प्रतिशत अन्तःशुल्क छुटको व्यवस्था सरकारले गरेको थियो । जुन उत्पादनका लागि आकर्षक नभएको उनको भनाई छ । 

‘होन्डा पनि मोटरसाइकल एसेम्बल गर्ने विषयमा गम्भिरता पूर्वक अध्ययन गरिरहेको छ,’ ज्योतिले भने, ‘नेपालमा प्लान्ट लगाउन जमिनदेखि सबै कुराको समस्या व्यवसायीले नै समाधान गर्नुपर्छ । यो समस्या समाधानका लागि सरकारले पनि सहयोग गर्नुपर्छ जसले व्यवसायीलाई आकर्षित गरोस् ।’

सरकारले पार्टपुर्जा आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्क छुट दिएसँगै आयातमा समेत सहजिकरण गर्नुपर्ने ज्योतिले मेरोअटोसँगको अन्तर्वार्तामा भनेका थिए । केन्द्र सरकारका साथै प्रदेश सरकारहरुले उद्योग स्थापना गर्दा केही छुट दिने हो भने सहज रुपमा एसेम्बल उद्योग सञ्चालन गर्न सकिने अवस्था आउने उनले बताए । 

नेपालमा एसेम्बल उद्योग सञ्चालन गर्ने हो भने यहाँ भ्यालू एड हुन्छ र ठूलो संख्यामा रोजगारी सृजना हुन्छ । रबर ल्याएर, स्टील ल्याएर आवस्यक पाटर्स बनाउने उद्योग नेपालमै खुल्यो भने एसेम्बलका लागि सपोर्टिभ हुँदै जाने ज्योतिको भनाई छ । ‘यसले धेरै भ्यालू एडिसन हुन्छ । सपोर्टिभ उद्योग सहित सवारी एसेक्बल भयो भने त्यो राज्य तथा व्यवसायी दुवैको वीन वीनको अवस्था आउँछ,’उनले भने । होन्डा मात्र होइन नेपालमा अन्य कम्पनीहरुले पनि सवारी एसेम्बल गर्ने ज्योतिको विश्वास छ ।


Back_to_top